Logo

प्रमुख समाचार

माओवादीले ल्यायो कांग्रेसभित्र हलचल, एमालेसंग भित्रभित्रै वार्ता



काठमाडौं । माओवादी केन्द्रले नयाँ सरकार गठनमा एमालेसँग पनि वार्ता गर्ने बाटो खोलेको छ ।

शनिबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको हो । माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताएका छन् । माओवादीले कांग्रेसलाई दवावमा राख्न पनि यो निर्णय गरेको हुन सक्ने चर्चा छ ।

उनले अन्य विकल्पमा पनि खुला रहने समेत जानकारी दिएका छन् । उनले भने, ‘अन्य विकल्पमा पनि खुला रहेका छौं ।’ माओवादीले अपेक्षा गरेअनुरुप प्रतिनिधि सभामा सिट संख्या आउन नसकेको उल्लेख गरेको छ ।

महासचिव देव गुरुङले अहिले गठबन्धनमै रहेकाले गठबन्धनकै सरकार गठनको पहल हुने बताएका छन् । गुरुङले वार्ता र संवाद एमालेसँग पनि हुनसक्ने बताएका छन् ।

चुनावको प्रारम्भीक समीक्षा मात्रै भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको गुरुङले बताएका छन् । महासचिव गुरुङले राजनीतिक कोर्ष जता पनि जान सक्ने चेतावनी दिएका छन् ।

उनले गठबन्धन अहिले यथावत नै रहेको बताएका छन् । भावी यात्राबारे अहिले कुरा नभएको उनले बताएका छन् । माओवादीको पदाधिकारी बैठकमा भएको प्रारम्भीक छलफलबाट सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई तनाब बढाइदिएको छ ।

ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्री पद मागेको छ । कांग्रेसले सरकारको नेतृत्व गर्न पाउनु स्वभाविक पनि रहेको छ । उता, एमालेले गठबन्धनलाई तोडेर सरकार बनाउन प्रयास गरिरहेको छ । एमालेका दोस्रो तहका नेताहरू माओवादी र एमाले मिलेर वामपन्थी सरकार बनाउने प्रयासमा छन् ।

एमालेका नेता विष्णु पौडेल, योगेश भट्टराई, विष्णु रिमालसहितका नेताहरू माओवादीका नेताहरूसँग सम्पर्कमा छन् । माओवादीका नेता जनार्दन शर्मासहितका नेताहरू एमालेका नेताहरूसँग सम्पर्कमा रहेको चर्चा छ ।

अर्थमन्त्री समेत रहेका माओवादी नेता शर्मा र एमाले समर्थक गर्भनर महाप्रसाद अधिकारीबीच पछिल्लो समय सम्बन्ध सुधारमा देखिएको प्रगतिले एमाले र माओवादी नजिक भएको हुन सक्ने चर्चा छ ।

प्रकाशित मिति : १८ मंसिर २०७९, आईतवार २२:०१   :  बजे

207
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।