Logo

राजनीति

संसदीय दलमा देउवाविरुद्ध एक हुने इतर पक्षकाे प्रयास, शेखर र गगनमध्ये काे पछि हट्लान ?



काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षबाट संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध एक भएर जाने गरी छलफल जारी छ । देउवाका प्रतिस्पर्धी डा. शेखर कोइराला कि गगन थापा भन्नेबारे अहिले सहमतिको प्रयासस्वरुप राजधानीकाे होटल एम्बासडरमा नेताहरुबीच छलफल भइरहेको छ ।

कांग्रेस महामन्त्री गगन थापाले देउवालाई संसदीय दल नेतामा चुनौती दिनेगरी तयारी थाले पनि अन्तिम घडीमा डा. शेखर कोइरालालेसमेत दलको नेतामा इच्छा देखाएपछि संस्थापन पक्षविरुद्ध कसरी एक भएर जाने भन्ने विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

उपसभापति धनराज गुरुङले आफ्नो पहलमा आज सोमबार बिहान छुट्टाछुट्टै बैठकहरु राखेका थिए । बिहानैदेखि चलेका अलग अलग बैठकका सुरु चरणमा थापा र कोइराला दुवैलाई सहभागी गराइएको थिएन । तर अहिले अर्को चरणको बैठक बसिरहेको र कोइराला र थापा दुवैको सहभागीता रहेको बताइएको छ ।

शेखर र गगनमध्ये एक जना पछि हटेर सहमतिमा पुग्ने प्रयास भइरहेकाे नेताहरुकाे दाबी छ । थापालाई दलको नेता प्रस्ताव गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने यस छलफलमा सहभागी छैनन् । गुरुङसहित चन्द्र भण्डारी, बलबहादुर केसी, हृदयराम थानी लगायत नेता होटल एम्बासडरमा सहभागी छन् ।

प्रकाशित मिति : ४ पुष २०७९, सोमबार १७:४५   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।