काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका नेताहरु आज पनि छलफलमा व्यस्त छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्नेगरी नेताहरुले छलफललाई तीव्रता दिएपनि सहमतिको विन्दु भेटिएको छैन ।
इतर पक्षबाट नेता शेखर कोइराला र महामन्त्री गगन थापा दुवैको दाबी छ । दुईमध्ये एकजनालाई साझा उम्मेदवार उठाउनेगरी सोमबारदेखि उपसभापति धनराज गुरुङलगायतका शीर्षनेताले पहल गरिरहेका छन् ।
आज (मंगलबार) बिहान पनि लैनचौरस्थित एक होटलमा नेताहरु भेला भएर शेखर र गगनमध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफल गरेका छन् ।
इतर समूहले आजै आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठकसमेत बोलाएको छ । अनामनगरको एक होटलमा बैठक बस्ने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।
सकसका बाबजुद पनि आजै सहमतिमा पुग्नुको विकल्प संस्थापन इतर पक्षसँग छैन । किन भने कांग्रेसमा संसदीय दलको नेताका लागि आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ । संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा एक मात्र उम्मेदवार हुन् भने इत्तर पक्षबाट अहिलेसम्म शेखर र गगन थापाको दाबी यथावत छ ।




















प्रतिक्रिया