Logo

बागमती प्रदेश

कांग्रेस बागमती संसदीय दलमा संस्थापन पक्षभित्रै रोचक प्रतिस्पर्धा हुँदै, कसको पल्लाभारी ?



काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि यहि पुस १३ गते निर्वाचन हुँदैछ । केन्द्रमा बुधबार (पुस ६ गते) भएको निर्वाचनबाट प्रधानमन्त्री एवं पार्टीसभापति शेरबहादुर देउवा दलको नेता चयन भएसँगै प्रदेशमा यो प्रक्रिया अघि बढेको हो । देउवाले संस्थापन इतर पक्षका गगन थापालाई ३९ मतान्तर पराजित गर्दै बाजी मारेका हुन् । प्रतिनिधिसभामा रहेका ८९ सांसदमध्ये ६४ जनाको रोजाइमा देउवा पर्दा २५ सांसदले मात्र महामन्त्री थापालाई भोट हाले । केन्द्रमा सकिएसँगै कांग्रेसले प्रदेशमा पनि दलको नेता चयनको प्रक्रियालाई तीव्रता दिएको हो ।

कांग्रेस बागमतीमा दलको नेता को बन्ला (?) भन्ने विषय अन्य प्रदेको तुलनामा बढी चर्चामा छ, किनभने यहाँ संस्थापन पक्षकै नेताहरुबीच रोचक प्रतिस्पर्धा हुँदैछ । सहमति नजुटेपछि निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार पुस १३ गते प्रदेश कार्यालय हेटौंडामा निर्वाचन हुन लागेको हो ।

कांग्रेस प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । दलको नेता बनेपछि भावी मुख्यमन्त्रीका लागि योग्य भइने भएपछि बागमतीमा संस्थापन पक्षकै इन्द्र बानियाँ र बहादुरसिंह लामाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

दुवैको आ–आफ्नै दाबी
मकवानपुर–२ को प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित भएका इन्द्रबहादुर बानियाँ दलको नेतामा दाबी गर्नेमध्येका एक हुन् । कांग्रेस बागमतीका सभापतिसमेत रहेका उनी प्रदेशसभामा लगातार दोस्रो पटक बाजी मार्न सफल भएका हुन् ।

प्रदेशसभाको पहिलो कार्यकालमा पनि दलको नेता रहेका उनी दोस्रो पटक पनि दलको नेता हुँदै मुख्यमन्त्री बन्न चाहन्छन् । प्रतिनिधिसभा संसद विघटनपछि केन्द्रमा समीकरण फेरिएसँगै पहिलो कार्यकालमै मुख्यमन्त्री बन्ने आशामा रहेपनि त्यो पूरा हुन सकेन । यस पटक बागमतीमा दलको नेता र मुख्यमन्त्रीमा आफ्नो बलियो दाबी रहेको उनी बताउँछन् ।

‘संसदीय दलको नेतामा म बलियो दाबेदार हुँ’, अनलाइनपानासँग उनले भने, ‘म यसअघि पनि दलको नेता भएर मुख्यमन्त्रीका लागि योग्य भइसकेको व्यक्ति हुँ । यस पटक त स्वभाविक रुपमा दलको नेता र मुख्यमन्त्रीमा मेरो दाबी रहने नै भयो ।’

यसअघि गठबन्धनमा भएको ‘आलोपालो’को सहमतिअनुसार उनले बागमतीको मुख्यमन्त्री बन्ने अवसर पाएपनि अवधि छोटो भएपछि नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेलाई नै छाडिदिएका थिए ।

यस्तै, नुवाकोट–२ को प्रदेशसभा २ बाट निर्वाचित भएका बहादुरसिंह लामा दलको नेताका अर्का दाबेदार हुन् । मुख्यमन्त्री बन्नकै लागि उनी संघबाट प्रदेशमा घटुवा भएका हुन् । २०७४ मा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य बनेका उनी यस पटक प्रदेशसभामा झरेका हुन् ।

कांग्रेसको केन्द्रीय सदस्य लामा पनि संस्थापन पक्षकै नेता हुन् । उनले आफू कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् । ‘म संसदीय दलको नेतमा लड्ने नै हो । कुनै पनि हालतमा म पछि हट्दिन’, अनलाइनपानासँग लामाले भने, ‘म पार्टी सभापति देउवाकै प्यानलबाट लड्न लागेको हो ।’ स्रोतका अनुसार सभापति देउवाले केन्द्रीय सदस्य लामालाई समर्थन गर्ने सम्भावना छ ।

संस्थापन इतर समूह निर्णायक ?
दलको नेतामा संस्थापन पक्षकै नेताहरुबीच प्रतिस्पर्धा हुने भएपछि नतिजा कसको पक्षमा भन्ने निर्क्यौलमा इतर समूहका सांसदहरुमा पनि निर्भर रहने देखिएको छ । हुन त प्रदेशसभामा शेखर कोइराला–गगन थापा समूहबाट दलको नेतामा दाबी नरहेको बुझिएको छ ।

शेखर–गगन समूहबाट सांसदहरु ५ जना मात्रै रहेका छन् भने संस्थापन पक्षका ३२ जना रहेका जनाइएको छ । ४ मंसिरमा भएको निर्वाचनमा बागमतीमा कांग्रेसले प्रत्यक्ष २५ र समानुपातिकमा १२ गरी ३७ सिट प्राप्त गरेको हो । दलको नेतामा बाजी मार्न कम्तिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ । तसर्थ संसदीय दलको नेता हुन बानियाँ वा लामाले कम्तिमा १९ मत प्राप्त गर्नुपर्छ ।

संसदीय दलको नेता नै मुख्यमन्त्री हुने भएकाले कांग्रेस बागमती दलको निर्वाचन रोचक मोडमा पुगेको छ । मुख्यमन्त्रीमा लामा र बानियाँले पार्टी नेतृत्वमा निरन्तर दबाब दिँदै आएका छन् । गठबन्धनको भागबन्डामा पनि बागमतीको मुख्यमन्त्री कांग्रेसले पाउने सम्भावना बढी रहेको नेताहरू बताउँछन् ।

प्रकाशित मिति : ८ पुष २०७९, शुक्रबार १६:५५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।