Logo

प्रमुख समाचार

सरकारलाई समर्थन गर्नेबारे राप्रपामा विवाद, वरिष्ठ उपाध्यक्ष मिश्र भन्छन्– प्रचण्ड ‘पेण्डुलम’ नै हुन्



काठमाडौं । वैचारिक रूपमा फरक धारको नेतृत्व गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा विवाद सुरु भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन टुटेसँगै बनेको एमाले–माओवादी नेतृत्वको गठबनधनले प्रचण्डलाई प्रधानमन्त्रीमा अघि सार्दा राप्रपाले पनि समर्थन जनाएको थियो ।

राप्रपासहित सात दलको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । तर अहिले त्यसलाई लिएर पार्टीमा विवाद सुरु भएको देखिएको छ । खासगरी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्न नहुने मत अघि सारेका छन् ।

मिश्रले गएराति फेसबुकमा उक्त धारणा सार्वजनिक गरेका हुन् । उनले त्यसमा सरकारलाई दिएको समर्थनको निरन्तरताका निम्ति व्यक्तिगत तवरबाट ३ वटा शर्त प्रस्तुत गरेका छन् । मिश्रको यो स्टाटसले पार्टीभित्रै तरङ्ग उब्जेको छ ।

मिश्रले स्टासको सुरुमै लेखेका छन्, ‘राप्रपा सरकारमा जाँदैन : राजेन्द्र लिङदेन, कुनै हालतमा जानु हुँदैन : म’

उनको यो भनाइको आशय सरकारमा जानु नहुने सवालमा अध्यक्षभन्दा आफ्नो कडा अडान रहेको देखिन्छ । त्यसपछि उनले बहुमतको सरकार नै बन्न नसक्ने अवस्था देखिएपछि अन्तिम घडीमा राप्रपाले सरकार निर्माणमा समर्थन गर्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

‘तर, राप्रपाको बैठकले निर्णय गरिसक्दा बाहिर अरू केहीले पनि समर्थन गरिसकेछन्, जसले गर्दा धेरैलाई राप्रपाले समर्थन नगरेको भए पनि बहुमतको सरकार निर्माण हुन्थ्यो भन्ने पर्‍यो, जुन साँचो हो। तर अवस्था सोचेभन्दा फरक किसिमबाट विकसित भएको थियो ।’, उनले लेखेका छन् ।

मिश्रले आफूले प्रचण्डको आलोचना गरेको पुरानो भाषणको भिडियो क्लिप पनि सेयर गर्दै त्यसमा अडिग रहेको जनाएका छन् । चुनावअघिको एक भाषणमा उनले यो देशमा केही वर्षपछि तीन वटा पार्टी कांग्रेस, एमाले र राप्रपाको मात्रै अस्तित्व रहने दाबी गरेका थिए ।

मिश्रले भनेका थिए, ‘माओवादी पेन्डुलमजस्तो यता र उता गर्छ । कि त्यो विलय हुन्छ, कि साँघुरिएर बस्छ ।’ उनले प्रचण्डबारे आफ्नो पुरानो धारणा यथावत् रहेको बताएका छन् । उनले भनेका छन्– प्रचण्ड ‘पेण्डुलम’ नै हुन् ।

सरकारलाई समर्थनको निरन्तरताका लागि मिश्रले राखेका ३ शर्त

१. पौष २७ गतेलाई ‘राष्ट्रिय एकता दिवस’ अथवा ‘नेपाल दिवस (Nepal Day) घोषणा गरियोस् ।

२. संविधानको अन्तिम मस्यौदा तयार पार्दा संविधानसभाले जनतासँग धर्म निरपेक्षताबारे औपचारिक रूपमा संकलन गरेको ‘जनमत’को यथार्थ विवरण सार्वजनिक गरियोस् र जनताको चाहाना अनुरूप निर्णय गरियोस्।

३. उच्च स्तरीय नागरिक आयोग गठन गरेर २०४६ सालपछिका सबै उच्चपदस्थको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाही गरियोस्।

प्रकाशित मिति : १३ पुष २०७९, बुधबार १२:०६   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।