Logo

राजनीति

कार्यविधि विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता



काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना गरी १९४ सुरक्षाकर्मी प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर भएका गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोख्रेलले जानकारी दिए ।

गृहले मंगलबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाका लागि पाएको सुरक्षाकर्मीमा मापदण्ड विपरीत भए फिर्ता गर्न भनेको थियो । त्यसअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कर्मचारी र सुरक्षाकर्मीको व्यक्तिगत सुरक्षामा मापदण्ड विपरित खटिएका प्रहरीलाई फिर्ता गरेको हो ।

नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृहले मंगलबार दुवै सुरक्षा निकायलाई सुरक्षा कार्यविधिविपरीत खटिँदै आएका जनशक्तिलाई फिर्ता बोलाउन भनेको थियो ।

विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार बहालवाला तथा पूर्व निश्चित पदाधिकारीहरुलाई मात्रै सेना, प्रहरी र सशस्त्रका अंगरक्षक, सवारी, इन्धनसहितको सुविधा तोकिएको छ । तर सत्ता र शक्तिमा रहेकाले पहुँचका आधारमा कार्यविधि मिचेर यस्तो सुविधा दुरुपयोग गर्दै आएका छन् । प्रहरी र सशस्त्रका सुरक्षाकर्मी दुरुपयोग गर्ने गृह मन्त्रालयका कर्मचारी पनि संलग्न रहेका छन् ।

प्रकाशित मिति : १४ पुष २०७९, बिहीबार १९:१४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।