Logo

प्रमुख समाचार

बागमतीमा नयाँ सरकार गठनका लागि २५ गतेभित्र दाबी पेश गर्न आह्वान



हेटौंडा । बागमती प्रदेश यादवचन्द्र शर्माले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आगामी २५ गतेभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका हुन् ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दलहरुसंगको सहकर्यामा सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख कार्यालय हेटौंडाका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् । प्रदेश प्रमुख कार्यालय हेटौंडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनको लागि आह्वान गरेको सचिव खड्काले बताए ।उनले सरकार गठनको आह्वान भएको दिन

देखि ५ दिन भित्र मुख्यमन्त्रीमा बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेस गर्न आह्वान गरेका छन् । उनले आगामी पुस २५ गते अपराह्न ४ बजे भित्र सरकार गठनको लागि दावी गर्न समय दिएका छन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ । बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।

प्रकाशित मिति : २१ पुष २०७९, बिहीबार ११:३०   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।