काठमाडौं । नेपाल प्रहरीमा भ्रष्टाचार व्याप्त रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राष्ट्रसेवक कर्मचारीका नाममा करोडौं भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएका दाबी गर्दै अख्यितरमा पुस १७ गते प्रहरी संगठनकै एक अधिकारीले उजुरी दिएका हुन् ।
भ्रष्टाचारमा विभिन्न ठाउँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्सपेक्टर)हरु संलग्न रहेका उजुरीमा उल्लेख छ ।
को–को विरुद्ध परेको छ अख्तियारमा उजुरी ?
डीएसपी ऐन मल्ल
उजुरी अनुसार भ्रष्टाचारीको पहिलो सूचीमा डीएसपी ऐन मल्ल पहिलो नम्बरमा छन् । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत उनले भ्रष्टाचार र अनियमितताबाट अकुत सम्पत्ति आर्जन गरी काठमाडौंको टोखामा महल ठड्याउनुका साथै शेयर बजारमा करोडौं लगानी गरेका उजुरीकर्ताको दाबी छ ।
यीबाहेक डीएसपी मल्लले अन्य विभिन्न क्षेत्रमा पनि लगानी गरेका दाबी गरिएको छ । उनले महाराजगञ्जमा पुलिस रिपोर्ट दिने स्थानमा रहँदा दलालहरुसँगको मिलेमतोमा करोडौं रुपैयाँ आर्जन गरेका उल्लेख छ । यसैगरी मल्लले जिल्ला ट्राफिक कार्यालय नेपालगञ्जमा कार्यरत हुँदा भारतीय गाडी, लाइसेन्स तथा मातहातका पोष्टहरुबाट पनि करोडौं रुपैयाँ असुल गरेका दाबी गरिएको छ ।
डीएसपी राकेश पोद्दार
जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत डीएसपी राकेश पोदार सुनसरीका स्थायी बासिन्दा हुन् । २०५२ बाट प्रहरी सहायक निरीक्षकबाट सेवा सुरु गरेका उनले सुरुदेखि नै राजनीतिक पहुँचका आधारमा आर्थिक लाभ हुने स्थानमा मात्र दरबन्दी मिलाई भ्रष्टाचार गरेको आरोप छ ।
वीरगंज ट्राफिक, जिल्ला ट्राफिक कार्यालय विर्तामोड झापा, जिलला ट्राफिक कार्यालय विराटनगर मोरङ जस्ता स्थानमा रहँदा लाइसेन्स, भारतीय गाडी र मातहातका पोष्टका कर्मचारीहरुबाट रकम उठाई कारोडौं भ्रष्टाचार गरेको उजुरीकर्ताको दाबी छ । उनले त्यसरी कमाएको रकमले सुनसरीका विभिन्न स्थानमा जग्गा जोडेका र हालसालै काठमाडौंमा पनि जग्गा खरिद गरेका भन्दै डीएसपी पोद्दारविरुद्ध अनुसन्धान गर्न उजुरी परेको हो ।
डीएसपी विजय कुँवर
२०५३ सालबाटै सेवा सुरु गरेका डीएसपी विजय कुँवर प्रहरी प्रधान कार्यालय, बजेट शाखामा कार्यरत छन् । अछामका सामान्य किसान परिवारमा हुर्केका उनले अहिले अवैध रुपमा करोडौं सम्पत्ति आर्जन गरेको दाबी गरिएको छ । सुरुदेखि नै लेखापाल भई अहिलेसम्म यसैमा क्षेत्रमा कार्यरत रहेका उनले सरकारी बजेटमा भ्रष्टाचार गरी कमाएको अकुत सम्पत्तिले काठमाडौं र नेपालगंजका धेरै स्थानमा सम्पत्ति जोडका उजुरीकर्ताको दाबी छ ।
डीएसपी मदन कुँवर
डीएसपी मदन कुँवर प्रहरी प्रधान कार्यालय, कल्याण लेखा शाखामै कार्यरत छन् । अछामकै साधारण परिवारका उनले पनि भ्रष्टाचार गरी सम्पत्ति जोडेको आरोप छ । उनले त्यसरी अवैध ढंगबाट कमाएको सम्पत्तिले नै काठमाडौंको धुम्बाराहीमा घर किनेका बताइएको छ । उनी २ नम्बर गण महाराजगंजमा लेखापालमा कार्यरत रहँदा घरमा आफ्नो श्रीमती हुँदाहुँदै महिला प्रहरीलाई कान्छी श्रीमती बनाई बहुविवाह गरेकाेले बहुविवाहकाे मुद्दासमेत चल्न सक्ने व्यक्ति हुन् ।
डीएसपी टिका कार्की
भोजपुरका टिका कार्की हाल मोरङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत छन् । उनले पनि राजनीतिक पहुँचकै भरमा आर्थिक लाभ हुने क्षेत्र मात्र रोजेर त्यसमा ठाउँबाट भ्रष्टाचार गरी करोडौं सम्पत्ति कमाएको उजुरीकर्ताको दाबी छ । उनले मोरङको विराटचोक र काठमाडौं कपनको निलो पुलमा घरसमेत बनाइसकेका छन् । उनीसँग एक हुण्डाइ कारसमेत छ ।
प्रहरी प्रभाग कोटेश्वरमा इन्चार्ज रहँदा सेवाग्राहीसँग पैसा लिएको विषयमा तत्कालिन जिल्ला इन्चार्ज रमेश खरेलले नसिहत दिई कारबाही गरी त्यहाँबाट हटाएकासमेत थिए । उनी जहाँ गए पनि आर्थिक मामिलामा विवादस्पद व्यक्ति हुन् । राजनीतिक शक्ति केन्द्रको भरमा हालिमुहाली गर्दै आएका उनी हाल जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत छन् । त्यहाँ पनि विभिन्न माध्यमबाट भ्रष्टाचार गरी महिनामै डेढदुई लाख आम्दानी गरिरहेको दाबी गरिएको छ ।
इन्सपेक्टर होम अधिकारी
२०५४ सालबाट प्रहरी सेवामा प्रवेश गरेका उनी साधारण परिवारका हुन् । तर अहिले उनीसँग भ्रष्टाचारमार्फत आर्जन गरेको करोडौंका सम्पत्ति रहेको उजुरीकर्ताको दाबी छ । उनले पनि झापा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेर लाइसेन्स, भारतीय गाडी र मातहातका पोष्टहरुबाट रकम असुल गरी करोडौंको भ्रष्टाचार गरेको आरोप छ । अहिले इलाका प्रहरी कार्यालय काँरडभिट्टामा कार्यरत उनले तस्करहरुसँग मिलेर करोडौं आर्जन गर्ने गरेकाे दाबी गरिएको छ ।
इन्सपेक्टर निशेष चापागाई
प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन शाखामा कार्यरत इन्सपेक्टर निशेष चापागाईले भ्रष्टाचार गरेरै विराटनगर र काठमाडौंको बालकुमारीमा घरजग्गा जोडेको आरोप छ । उनीसँग करोडौं मूल्यका गाडीसमेत छ । उनी तत्कालिन क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा लेखापाल हुँदा ट्राफिक प्रहरीले जरिवानास्वरुप काट्ने सरकारी राजश्वको रसिद नक्कली छपाइ सो रसिद काटी सरकारी राजश्वमा जाने रकम भ्रष्टाचार गरेको आरोप उजुरीकर्ताको छ ।
यस्तै लेखापालमै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा रहँदा कार्यरतभन्दा बढी प्रहरी कर्मचारीको नक्कली नाम संलग्न गरी रासनभत्ता बापतको लाखौं रकम भ्रष्टाचार गरेका दाबी गरिएको छ ।
इन्सपेक्टर डुण्डी गिरी
२०५४ देखि प्रहरी सेवा सुरु गरेका इन्सपेक्टर ढुण्डी गिरी अहिले १ नं. प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन् । इलामका साधारण किसान परिवारका उनी रातारात करोडपति बनेका उजुरीकर्ताको आरोप छ । दूध बेचेर जीविकोपार्जन गर्ने परिवारका उनी अहिले विर्तामोडमा आलिशान बंगलाका मालिक बनेका छन् ।
उजुरीकर्ताका अनुसार लेखापाल हुँदा जागिर छाड्ने प्हरी कर्मचारीको रकम नदिई नक्कली भपाई बनाई इन्सपेक्टर गिरी आफैले रकम कब्जा गर्थे । पछि प्रहरी निरीक्षक भएर जिल्ला ट्राफिक कार्यालय विर्तामोड झापा पुगेपछि लाइसेन्स, भारतीय गाडी र मातहातका पोष्टबाट रकम असुल गरी करोडौं सम्पत्ति आर्जन गरेकाले उनीविरुद्ध पनि छानबिन गर्न माग गर्दै अख्तियारमा उजुरी परेको हो ।
इन्सपेक्टर सुनजित तामाङ
पुर्ख्यौली घर सिन्धुपाल्चोक रहेका इन्सपेक्टर सुनजित तामाङ अहिलेका करोपति हुन् । उनले हालसालै इलाका प्रहरी कार्यालय सिङटी, दोलखामा कार्यरत रहँदा विभिन्न हाइड्रोपावर, क्रसर उद्योग र बालुवा तथा ढुंगाखानीसँग अवैध पैसा असुलेको आरोप छ ।
सामान्यतया इन्चार्ज भई एक वर्ष कार्यकाल हुनपर्नेमा राजनीतिक पहुँचको भरमा इन्सपेक्टर तामाङ रकम खुवाई २२ महिनासम्म त्यही बसेका थिए । हाल मुग्लिनमा कार्यरत रहेका उनी अहिले पनि बालुवाखानी, टिपर व्यवसयाी र क्रसर उद्योगसँग रकम असुल गर्दै आएका आरोप लगाइएको छ ।
आफू प्रहरी संगठनमै कार्यरत रहेकाले सुरक्षा थ्रेट हुने भन्दै नाम खुलाउन नचाहेका उजुरीकर्ता प्रहरी अधिकारीले उनीहरुमाथि निष्पक्ष छानबिनकाे माग पनि गरेका छन् ।




















प्रतिक्रिया