Logo

अर्थ

विदेशी मुद्रा सञ्चितिमा थप सुधार



काठमाडौं । विदेशी मुद्रा सञ्चितिमा थप सुधार हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना (साउन–मंसिर) सम्मको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजकि गर्दै विदेशी मुद्रा सञ्चिति बढ्दै गएको उल्लेख गरेको छ ।

२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा आउँदा ६.३ प्रतिशतले वृद्धि भई १२ खर्ब ९२ अर्ब ५६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ११ खर्ब ३९ अर्ब २२ करोड पुगेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति १ खर्ब ५३ अर्ब ३४ करोड कायम भएको छ । २०७९ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८÷७९ को पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात २०.७ प्रतिशतले, निर्यात ३४.६ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.८ प्रतिशतले घटेको छ । रेमिट्यान्स नेपाली रुपैयाँमा २३.० प्रतिशतले र अमेरिकी डलरमा १३.१ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको हो ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १३:५१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।