काठमाडौं । नेपाल फाइनान्स लिमिटेड पुन संकटतर्फ उन्मुख भएको छ । फाइनान्समा निक्षेप संकलन हुन नसक्दा र खराव कर्जा बढ्न जाँदा उक्त फाइनान्स फेरि संकटउन्मुख भएको हो । ७२ करोड चुक्ता पुँजी रहेको नेपाल फाइनान्सको खराव कर्जा मात्रै १७ करोड रहेको छ ।
विगतदेखि नै जथाभावि कर्जा परिचालन गर्दै आएको फाइनान्सका उच्च तहका कर्मचारीले आफन्त र नजिकका व्यक्तिमाथि धेरै कर्जा परिचालन गरेका छन् । त्यसबाहेक अन्य व्यक्तिसँगको मिलेमतोमा प्रमुख कार्यकारी अधिकृतले जग्गामा रकम लगानी गरेका छन् । हाल संस्था समस्या उन्मुख हुनुको मुख्य कारण यही रहेको छ ।
नेपाल फाइनान्स नीजि क्षेत्रको लगानीमा २०४९ सालमा स्थापना भएको पहिलो फाइनान्स कम्पनी हो । हाल नेपाल फाइनान्सको खराब कर्जा १७ करोड माथि छ । कम्पनीका अनुसार चालु आ.व .को प्रथम त्रैमासिकमा कम्पनीको चुक्ता पुँजी रु.७२ करोड ५४ लाख ७२ हजार २४७ रहेको छ भने कर्जा लगानी रु. १ अर्ब ४३ करोड रहेको छ । कम्पनीको उठ्न बाँकी खराब कर्जा करिब १७ करोड रहेको छ । कमलादी, काठमाडौंमा मुख्य कार्यालय रहेको यस फाइनान्सको देशभर १२ वटा शाखा र उपत्यका भित्र २ वटा एक्सटेन्सन काउन्टर छन् ।
विगतदेखि नै समस्यैसमस्या
नेपाल फाइनान्स कम्पनी विगतदेखि नै समस्याग्रस्त रहँदै आएको छ । हाल पनि कम्पनीको अधिकांश सूचकहरु खराव छन् । नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्स लिमिटेडलाई २०७१ सालमै समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि फाइनान्सलाई ६ महिनामा सुध्रिने मौका समेत दिएईको थियो । उक्त समयमा फाइनान्सको खराब कर्जा ५४ प्रतिशत पुगेको थियो ।
राष्ट्र बैैंकले सो फाइनान्सलाई ६ महिनाभित्र खराब कर्जा ५ प्रतिशतमा झार्न निर्देशन दिएको थियो । फाइनान्सका संस्थापक तथा पूर्वप्रमुख कार्यकारी रविन्द्रमान प्रधान, उनको परिवार र उनीसँग सम्बन्धित व्यक्ति तथा संस्थाको नाममा कम्पनीको ३६ प्रतिशतभन्दा बढी सेयर स्वामित्व रहेको र एउटै ग्राहक, र्फम तथा कम्पनीलाई राष्ट्र बैंकको निर्देशन विपरित प्राथमिक पुँजीको २५ प्रतिशतभन्दा वढी लगानी गरेको पाइएको थियो । त्यसपछि समस्याग्रस्त घोषणा भएको ५ वर्षपछि मात्र राष्ट्र बैंकले संस्थाको कारोबार फुकुवा गरेको थियो ।
अहिले पनि अवस्था उस्तै
नेपाल फाइनान्सको अहिले पनि अवस्था उस्तै रहेको छ । कम्पनीको खराब कर्जा बढ्दो छ भने अधिकांश सूचकहरु खराब रहेका छन् । नेपाल फाइनान्सले लाभांश वितरण गर्न पनि सकेको छैन भने उसको नाफाले कडोड लाग्न सकेको छैन । नाफा कमाउन पनि नसक्ने, बोनस दिन पनि नसक्ने र लाभाँस दिन पनि नसक्ने भएपछि लगानीकर्ताहरु रुष्ट छन् ।
गतबर्ष पनि फाइनान्सले सेयरधनीहरुलाई लाभाँस दिन सकेको थिएन । सो फाइनान्सले विशेष प्रस्तावमा उपयुक्त देखिएको अबस्थामा मर्जर सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अधिकार दिएको छ । तथापी खराव कर्जा धेरै भएको र डुव्लन लागेको अबस्था देखिएका कारण मर्जरमा अन्य वित्तीय संस्थाले इच्छा देखाएका छैनन् । नेपाल फाइनान्सले यसअघि नै ललितपुर फाइनान्सलाई १ बराबर १ सेयर स्वाप अनुपातमा गाभेको थियो । हकप्रद बिक्रिबाट सो फाइनान्सले चुक्ता पुँजी ७२ करोड ५४ लाख रुपैयाँ पुर्याएको छ । यस बिषयमा प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले पहिले समस्या भएको भए पनि अहिले फाईनान्स सुधारको अवस्थामा रहेको बताए ।
को–को छन् सञ्चालकमा
यस फाइनान्सको सञ्चालक समितिमा प्रा. हिरेन्द्रमान प्रधान अध्यक्ष रहेका छन् भने दिप्रस शाक्य निर्देशक, राजन प्रजापति निर्देशक, बिकेश शाक्य निर्देशक र लक्ष्मी महर्जन पब्लीक डाइरेक्टर रहेका छन् । त्यसैगरी उद्धवराज थपलिया, प्रमुख कार्यकारी अधिकृत एवं विष्णुप्रसाद गौतम, सहायक प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिवमा सागर प्रजापति रहेका छन् ।





















प्रतिक्रिया