Logo

स्वास्थ्य

काेराेनासँग लड्ने क्षमता विकासका लागि कस्तो खाने ? विज्ञको सुझाव…



काेराेना संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन् ।

त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानु पर्नेछ । बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उहाँले सुझाव दिनुभएको छ ।

त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान उहाँले आग्रह गर्नुभएको छ । बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उहाँको भनाइ छ । खसीबोकाको उपभोग पनि कम गर्न उहाँको सुझाव छ । कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको प्रयाेग कम गर्न उहाँले आग्रह गर्नुभयो ।

दिनको एकदुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उहाँले बताउनुभयो । धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उहाँले सुझाव दिनुभएको छ ।

सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्ने गरी खानपनि उहाँको सुझाव छ । शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागति लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उहाँले बताउनुभयो । त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उहाँको भनाइ छ । योगा, खानपिन, आयुरवेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला शहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो । दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताउनुभयो । घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुनुभन्दा अलग्गै बस्नुपर्नेमा जोड दिनुभयो । खाना खाँदा दूरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भीडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाइ छ ।

प्रकाशित मिति : कार्तिक २, २०७७ आईतबार  ४ : ५२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।