Logo

अर्थ

बढ्यो बैंकहरुको खराब कर्जा, कृषि विकास बैंककाे सबैभन्दा धेरै



काठमाडाैं । पछिल्लो समय अधिकांश बैंकहरुको खराब कर्जा बढेको छ  । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक रिपोर्टअनुसार धेरैजसो बैंकहरुको खराब कर्जा (एनपीएल) बढेको छ ।

आर्थिक गतिविधिमा मन्दी आएको, घरजग्गा कारोबार सुस्ताएको लगायत कारणले तोकिएको समयमा साँवा, ब्याज भुक्तानी हुन नसक्दा बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढ्न पुगेको हो ।

पछिल्लो एक वर्षमा बैकहरुको कुल खराब कर्जा करिब १ खर्ब रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुससम्म २२ वाणिज्य बैंकको कुल खराब कर्जा ४५ अर्ब ८२ करोड रुपैयाँमा सीमित थियो । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा करिब साढे ५४ अर्ब रुपैयाँले बढेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंकहरुको कुल निक्षेप रकम ४७ खर्ब पाँच अर्ब रुपैयाँ पुगेको छ । माघ पहिलो सातासम्म बैंकहरुको कर्जा प्रवाह ४२ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको छ ।

बैंकहरुले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार वाणिज्य बैंकहरुमा औषतमा २.३५ प्रतिशत कर्जा खराब देखिएको छ ।

दोस्रो त्रैमाससम्म २२ वाणिज्य बैंकमध्ये गत आर्थिक वर्षको तुलनामा २१ वटा बैंकको खराब कर्जाको अनुपात बढेको छ । राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा भने गत आर्थिक वर्षको तुलनामा घटेको छ ।

पुस मसान्तसम्म कृषि विकास बैंकको खराब कर्जा सबैभन्दा बढी ४.५२ प्रतिशत र नेपाल एसबीआई बैंकको खराब कर्जा सबैभन्दा कम ०.४७ प्रतिशत छ। २२ वाणिज्य बैंकमध्ये पाँचको खराब कर्जा एक प्रतिशतभन्दा कम छ ।

त्यस्तै, तीन बैंकको खराब कर्जा दुई प्रतिशतभन्दा कम, ८ बैंकको तीन प्रतिशतभन्दा कम, पाँच बैंकको ४ प्रतिशतभन्दा कम र एउटा बैंकको ५ प्रतिशतभन्दा कम छ।

बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सबैभन्दा बढी खराब कर्जा कृषि बिकास बैंकमा देखिएको छ । कृषि विकास बैंकको खराब कर्जा ४.५२ प्रतिशत पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा २.०८ प्रतिशत रहेको थियो ।

त्यसैगरी, हिमालयन बैंकको खराब कर्जा ३.७७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोहेई अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७२ प्रतिशतमा सीमित थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खराब कर्जा २.०६ प्रतिशतबाट बढेर ३.७१ प्रतिशत पुगेको छ । सनराइज बैंकको खराब कर्जा पनि १.४१ प्रतिशतबाट बढेर ३.३६ प्रतिशत पुगेको छ ।

पुस मसान्तसम्म कुमारी बैंकको खराब ३.१५ प्रतिशत पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा १.०६ प्रतिशतमा सीमित थियो ।

नेपाल बैंकको क्गराब कर्जा पनि ३ प्रतिशतभन्दा माथि छ । गत पुस मसान्तसम्म १.९१ प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको पुस मसान्तमा आईपुग्दा बढेर ३.११ प्रतिशत पुगेको छ ।

सिटिजन्स बैंक इन्टरनेशनलको खराब कर्जा २.९९ प्रतिशत, नबिल बैंकको २.९८ प्रतिशत, ग्लोवल आईएमई बैंकको २.९२ प्रतिशत, सिद्धार्थ बैंकको २.८७ प्रतिशत, प्राईम कर्मसियल बैंकको २.८१ प्रतिशत, सिभिल बैंकको २.४१ प्रतिशत र एनएमबी बैंकको खराब कर्जा २.२४ प्रतिशत पुगेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा २.०७ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ३.०६ रहेको थियो ।

प्रभु बैंकको खराब कर्जा १.२३ प्रतिशतबाट बढेर १.९८ प्रतिशत पुगेको छ भने लक्ष्मी बैंकको ०.८३ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ ।

माछापुच्छ्रे बैंकको पनि खराब कर्जा ०.५७ प्रतिशतबाट बढेर १.४१ प्रतिशत पुगेको छ । सानिमा, स्ट्याण्डर्ड चार्टड, एनआईसी एशिया, एभरेष्ट र नेपालएसबिआई बैंकको खराब कर्जाको अनुपात एक प्रतिशतभन्दा तल रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार २०:२५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।