Logo

राजनीति

रविलाई पक्राउ गर्ने बाटो खुल्यो, हुनसक्छ पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना



काठमाडौं । सर्वोच्च अदालतको फैसलासँगै रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुलेको छ । नागरिकता विवाद प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछानेको नागरिकता अमान्य घोषित भएसँगै सबै पद गुमेको छ भने उनलाई पक्राउ गर्ने बाटो खुला भएको छ ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला सुनाएसँगै स्वतः उप्रधान तथा गृह र रास्वपाको सभापति पदसमेत गुमाएका लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाइसकेका छन् ।

सबै पदबाट च्युत भएका लामिछानेले अमेरिकाको नागरिकता लिई आफूखुसी नेपाली नागरिकता त्याग गरिसकेपछि एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटाे खुलेकाे हाे ।

जिल्ला प्रहरी परिसर काठमाडौंले दोहोरो नागरिकताको प्रयोगको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, अध्यागमन विभाग र नेपालस्थित अमेरिकी दूतावासबाट समेत सो सम्बन्धमा बुझ्ने काम गरिरहेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ अनुसार अब लामिछानेमाथि विभिन्न सजाय हुनसक्छ । उक्त ऐनले नेपालमा दोहोरो नागरिकता लिन प्रतिबन्ध लगाएको छ । ऐनको दफा २१ मा दण्ड सजाय सम्बन्धी व्यवस्था गरिएको छ । जसअनुसार कुनै विदेशीले झूटो विवरण पेश गरी नेपाली नागरिकता प्राप्त गरेमा निजलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने कानुनी व्यवस्था रहेको छ ।

सन् २०१५ मा रवि लामिछाने अमेरिकी नागरिक रहेकै समयमा झूठो विवरण पेश गरी नेपाली राहदानी प्राप्त गरेका कारण सोही दफा अनुसार उनलाई फौजदारी कसुरमा अनुसन्धान र सजाय हुन सक्नेछ । ऐन लामिछानेलाई एक वर्षदेखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

  • याे पनि…

रवि लामिछानेले दिए उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा

मन्त्रालयबाट बाहिने क्रममा रविले भने : म अनागरिक हुँ, अनागरिकसँग कुनै प्रश्नकाे जवाफ छैन

रवि लामिछानेको सांसद पद खारेजसँगै चितवन २ मा अब उपनिर्वाचन हुने

रवि लामिछानेको पक्षमा नाराबाजी गर्नेहरु सर्वोच्च परिसरबाट पक्राउ

सर्वाेच्चद्वारा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज (फैसलासहित)

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार १९:५२   :  बजे

579
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।