Logo

प्रमुख समाचार

एमालेको उम्मेदवारलाई प्रधानमन्त्री ‘प्रचण्ड’ले समर्थन गर्ने : शेरबहादुर तमाङ



काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री शेरबहादुर तमाङले सरकार गठनका बेलामा भएको सहमतिअनुसार राष्ट्रपतिको निर्वाचनमा एमालेले उम्मेदवार उठाउने र उक्त उम्मेदवारलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समर्थन गर्ने उनको दाबी छ ।

आज रिपोर्टर्स क्लब नेपालको आयोजनामा ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, र समसामयिक राजनीतिक विषयमा विभिन्न दलका नेताहरुसँग भएको साक्षात्कार’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरुले गठबन्धन बनाएर निर्वाचनमा गएका दलहरुलाई जनताले सरकार सञ्चालन म्याण्डेट नदिएपछि एमालेले सरकार गठनको पहल गरेको बताएका हुन् ।

‘सरकार गठनको पहल कदमीअनुसार भएको सहमतिमा अब एउटा काम बाँकी छ, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन । राष्ट्रपतिको निर्वाचनमा नेकपा (एमाले) ले प्रस्ताव गरेको पात्र बन्नेछ । त्यसमा प्रचण्डले समर्थन गर्ने छन्,’उनले भने । एजेण्डाको आधारमा नेपाली कांग्रेसलाई पनि लिएर राष्ट्रिय सहमति खोज्न एमाले सकारात्मक रहेको उनको भनाई छ । पदीय भागबण्डाको आधारमा राष्ट्रिय सहमतिको कुनै प्रयास नहुने उनले बताए ।

‘नेपाली कांग्रेस पनि सरकारलाई समर्थन दिएको पार्टी भएकाले सरकारभित्र सहभागी हुन्छौं भन्ने हो भने हामी राष्ट्रिय सहमतिका लागि त्यसपछि अगाडि बढ्छौं,’ उनले बताए । शान्ति प्रकृयाको काम टुंग्याउन बाँकी रहेकाले बाँकी काम टुंग्याउने प्रकृयामा यो सरकार लाग्ने तमाङको दाबी छ । ‘नेकपा (एमाले) एजेण्डालाई लिएर राष्ट्रिय सहमतिका लागि सकारात्मक छ,’ उनले भने ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार १७:४१   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।