धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पाँचै वर्ष चल्ने दाबी गरेका छन् । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनलेप्रदेश सभामा प्रतिनिधित्व गर्ने कुनै पनि राजनीतिक दलले मध्यावधि निर्वाचन नचाहेको बताए ।
“सबैसँग सहकार्य गरेर खुल्ला छलफल भइरहेको छ । चाँडै नै हामी टुङगोमा पुग्छौ”, प्रदेश मध्यावधि निर्वाचनमा नजाने बताउनुहुँदै उनले संविधानले दिएको जिम्मेवारी पूरा हुने प्रष्ट पारे । सरकारले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको उल्लेख गर्दै मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्को पहिलो बैठकबाट भ्रष्टाचार नियन्त्रणका लागि प्रादेशिक कार्य तर्जुमा समिति गठन गरी काम अघि बढिरहेको उनको भनाइ छ ।
उनले प्रदेशको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी सिर्जनामा सरकार केन्द्रित रहने बताए । मुख्यमन्त्री शाह पुस २६ गते सो पदमा नियुक्त भएका थिए । कूल ५३ प्रदेशसभा सदस्य रहेको सुदूर पश्चिममा सरकार बनाउन २७ सांसद आवश्यक पर्छ । नेपाली कांग्रेसका १९ र एकीकृत समाजवादीका ४ गरेर सत्तारुढ पक्षसँग अहिले २३ सांसद छन् ।





















प्रतिक्रिया