काठमाडौं । गोरखामा विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवद्र्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । जिल्लाको उत्तरी भू–भागमा पर्ने धार्चे गाँउपालिकामा रहेको आयोजनाको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार भर्चुअल रुपमा टरबाईन सञ्चालन गरी समुद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउँदै गोरखा जिल्लाको हाइड्रोको उदघाटन विकासको सुरुवात भएको उल्लेख गरे । उनले स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा हाइड्रोपावर कम्पनी र लगानीकर्तालाई धन्यवाद व्यक्त गरे ।
यो वर्ष चुनावी वर्षका रुपमा बितेको बताएँदै प्रधानमन्त्री प्रचण्ड अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिने र त्यसपछि विकास निर्माणको कमले गति पाउने बताए । गोरखाबाटै विकासका लागि हाइड्रोको उद्घाटन गर्ने अवसर पाएकोमा धन्यवाद दिँदै यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु अगाडि बढाउने विश्वास व्यक्त गरे ।
विकास हाइड्रोका डाइरेक्टर जोन घलेका अनुसार उक्त हाइड्रो स्थानीयवासीकै सक्रियतामा सफलतापूर्व सञ्चालन भएको हो । उनले विकास हाइड्रोले स्थानीयमा उत्साह थपेको छ । डाइरेक्टर घलेले भने, ‘स्थानीयकै सक्रियतामा हाइड्रो सफलतापूर्वक सञ्चालन गर्न सफल भएका छौं । यसले स्थानीयमा उत्साह थपेको छ । अब निकट भविष्यमै कम्पनीले ठूला आयोजनासमेत निर्माण गर्नेछौं ।’
अष्ट्रेलियामा बस्दै आएका डाइरेक्टर घले गोरखाकै हुन् । उनले हाइड्रोपावर कम्पनीको डाइरेक्टर भएर काम गर्न पाउँदा आफूलाई पनि खुसी लागेको बताए । डाइरेक्टर घलेले कम्पनीका सेयरधनीहरुलाई पनि छिट्टै राम्रो प्रतिफल दिलाउने प्रतिवद्धतासमेत जनाए । उनले छिट्टै अन्य आयोजना निर्माण तथा सञ्चालन गर्ने तयारीमा आफूहरु रहेको बताए । ‘देशीविदेशी लगानी जुटाएर हामी छिट्टै नै अन्य योजना अघि बढाउने तयारीमा छौं’, घलेले भने ।
बुढी गण्डकी नदिको सहायक नदि माछा खोलामा करिब १ अर्ब लगानीमा निर्माण सम्पन्न भएको यस आयोजनामा प्रमोटरको ३५ प्रतिशत र राष्ट्रिय बाणिज्य बैंकको ६५ प्रतिशत ऋण लगानी रहेको छ । यस आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद बिक्री सम्झौता अनुुसार २०८० साल आषाढ ३० गते विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर सो मिति भन्दा ६ महिना अगावै सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी उत्पादन सुरु गरेको हो ।
यस आयोजनाले निमार्ण अवधिमा सो क्षेत्रका १५० भन्दा धेरै स्थायिनलाई रोजगारी प्रदान गरेको थियो भने हाल आयोजना निर्माण सम्पन्न पश्चात आयोजना सञ्चालनका लागि २० भन्दा बढी व्यक्तिहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी अवसर प्रदान गरेको छ ।




















प्रतिक्रिया