Logo

प्रमुख समाचार

उपेन्द्र यादव उपनिर्वाचन लड्ने तयारीमा

सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउने तयारी



काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार हुने तयारी गरेका छन् । गत मंसिर ४ मा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित पार्टीका सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएर उक्त ठाउँमा आफू उपनिर्वाचन लड्ने तयारी गरेका हुन् । अध्यक्ष यादव सप्तरी–२ बाट चुनाव हारेका हुन् ।

गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो । ‘हाम्रो पार्टीबाट रामसहायजी उपराष्ट्रपति बन्ने पक्कापक्की भइसकेको छ । औपचारिक निर्णय गर्न मात्रै बाँकी हो’, जसपाका एक कार्यकारिणी सदस्यले बताए ।

उपेन्द्र यादवले उपनिर्वाचन लड्ने मनस्थिति बनाएपछि नेता तथा कार्यकर्ताहरू आन्तरिक तयारीमा जुटिसकेका छन् । रामसहायप्रसाद उपराष्ट्रपति उम्मेदवार हुँदै विजयी भएका उक्त क्षेत्रमा उपनिर्वाचन गर्नुपर्ने हुन्छ । चैत ३ मा उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ । पार्टीले उपराष्ट्रपति पाए पनि कसलाई पठाउने निर्णय गरिनसकेको सांसद रामसहायप्रसाद यादवले जानकारी दिए ।

‘उपराष्ट्रपतिमा को उम्मेदवार बनाउने पार्टीले निर्णय गरिसकेको छैन । छलफल गरेर उम्मेदवार तय हुन्छ,’ उनले बताए । जसपाका कार्यकारिणी सदस्य समेत रहेका रामसहाय यादवले बारा–२ बाट १३ हजार ८२२ मत ल्याएर चुनाव जितेका थिए । रामसहाय यादव एमालेसँग गठबन्धन गरेर चुनाव जितेका थिए । शिवचन्द्र कुशवाहा पाँच दलीय गठबन्धनका उम्मेदवार थिए ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १२:२५   :  बजे

576
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।