अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका सल्लाहकार स्कट एटलसले मास्कको काम छैन भनी लेखेको पोस्ट ट्विटरले हटाइदिएको छ । गत अगस्ट महिनामा ह्वाइट हाउसको विज्ञान सल्लाहकारका रूपमा आएका एटलसले लेखेका थिए, ‘मास्कले काम गर्छ त ? गर्दैन ।’
मानिसहरूलाई मास्क लगाउनका लागि बाध्य पार्ने नीतिको समर्थन गर्न नसकिने पनि उनले बताए । कोभिड–१९ का सम्बन्धमा भ्रामक जानकारी कसैले पनि फैलाउन नहुने किनकि यस्ता पोस्टले मानिसहरूलाई हानि पुग्ने ट्विटरका एक प्रवक्ताले बताएका छन् । यस ट्वीटले कम्पनीको नीति उल्लंघन गरेको उनको कथन छ ।
ट्रम्प आफैं पनि मास्कलाई महत्त्वहीन वस्तुका रूपमा प्रस्तुत गर्ने गर्छन् । उनकै कतिपय ट्वीट पनि ट्विटरले हटाएको छ । आफू संक्रमित हुँदा पनि उनले मास्कलाई खासै महत्त्व दिएका थिएनन् ।
कोभिडका कारण अमेरिकामा २ लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । एटसलसे आफ्नो ट्वीट हटाइनु सेन्सरशिप भएको बताए । मास्क लगाउने नीति प्रभावकारी नरहेको भनी बताउने आफ्नो उद्देश्य भएको उनले बताए । सामाजिक दूरीको पालन गर्न नसकिने अवस्थामा मात्र मास्क लगाउनुपर्ने भनी उनले स्पष्ट पार्न खोजे ।
प्रतिक्रिया