Logo

प्रमुख समाचार

सभामुख घिमिरेको अभिव्यक्तिप्रति प्रेस युनियनको आपत्ति



सभामुख देवराज घिमिरेले ‘पत्रकारहरु बिक्रीमा छन्’ भनि दिएको अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।

युनियनले शनिबार एक विज्ञेप्ती जारी गर्दै निस्पक्ष र स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा बसेका सभामुखले पत्रकारिता पेसामा आँच पुर्‍याउने गरी यस्तो अभिव्यक्ति दिनु अपरिपक्क, अशोभनीय रहेको बताएको छ ।

युनियनले पत्रकारले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिका स्मरण गराएको छ ।

जारी विज्ञेप्तीमा भनिएको छ, ‘पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् ।’

यस्ता अपरिपक्क र गैर जिम्मेवार अभिव्यक्ति नदिन पनि प्रेस युनियन आग्रह गरेको छ ।

सभामुख घिमिरेको अशोभनीय, अपरिपक्क अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनको विज्ञप्ति
मितिः२०७९।१२।०४

प्रेस विज्ञप्ति


सभामुख देवराज घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी ‘पत्रकारहरु बिक्रीमा छन्’ भनेर अभिव्यक्त विचारप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । अस्वस्थ प्रतिस्पर्धामा रहेका केही राजनीतिक दलका प्रमुखहरुले आफू अनुकुल समाचार नआउँदा पत्रकारिता क्षेत्रलाईनै बद्नाम गर्ने गरी अभिव्यक्ति दिँदै आएका छन् । तटस्थ, निस्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेस विरुद्ध दिएको अभिव्यक्ति अपरिपक्क, अशोभनीय हो ।

पत्रकारले नेपालको राजनीतिक परिवर्तन, लोकतन्त्र, गणतन्त्र, राजनीतिक तथा नागरिक अधिकारको पक्षमा खेलेको भूमिकालाई समेत स्मरण गराउन चाहान्छौँ । पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन् । सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता क्षेत्रलाई आक्षेप लगाउनु दुःखद हो ।
नेपालको राजनीतिक, सामाजिक, प्रशासनिक लगायतका क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्रमा कमजोरी नभएका होइनन् । पत्रकारितामा देखिएका कमी, कमजोरीलाई कानुन बनाएर विधि र पद्धतिबाटै सुधार गर्दै लैजानुपर्छ भन्ने युनियनको मान्यता छ । तर, सभामुखबाट समग्र पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने गरी अभिव्यक्त विचार निन्दनीय छ । यस्ता अपरिपक्क र गैर जिम्मेवार अभिव्यक्ति नदिन नेपाल प्रेस युनियन हार्दिक आग्रह गर्दछ ।

प्रेस युनियन लोकतन्त्र, विधिको शासन, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक पत्रकारितामा विश्वास राख्दछ । सञ्चार क्षेत्रका समस्यालाई न्यूनिकरण गर्दै व्यावसायिक, जवाफदेही बनाउन नेपालकोे प्रेस जगत प्रतिवद्ध छ । अपरिपक्व, गैरजिम्मेवार, अराजनीतिक अभिव्यक्ति नदिन, जवाफदेही रूपमा आफ्ना विचार राख्न, पत्रकारिता पेसालाई सम्मान गर्न नेपाल प्रेस युनियन सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।

दिलीप पौडेल
महासचिव

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार १०:४८   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।