काठमाडौं । कोशी प्रदेश नामकरणको सन्दर्भमा सत्तारुढ नेकपा माओवादी केन्द्रले दोहोरो चरित्र प्रदर्शन गरेको छ । फागुन १७ गते बसेको प्रदेशसभा बैठकमा ‘कोशी’को पक्षमा मत हालेर बहुमत पु¥याएको माओवादी झन्डै पाँच हप्तापछि भने कोशी नामकरणविरुद्ध उभिने निर्णय गरेको हो । कोशीमा माओवादीका १५ सांसद छन् । माओवादीबाटै एकजना सभामुख भएकाले बाँकी १४ जनाले १७ फागुनमा कोशीको पक्षमा मतदान गरेका थिए ।
प्रदेश १ लाई कोशी नामकरण गरिएपछि सभ्यता तथा पहिचानको पक्षमा उभिएकाहरु आन्दोलित छन् । आन्दोलनकै क्रममा प्रहरीको लाठी प्रहारबाट पदम लिम्बू (लाजेहाङ)को निधनसमेत भएको छ । त्यसयता प्रदेश नामकरणविरुद्धको आन्दोलन थप सशक्त हुँदै गएको छ । यस बिचमा प्रदेश राजधानी विराटनगर, संघीय राजधानी काठमाडौं र प्रदेशका विभिन्न स्थानमा धर्ना तथा प्रदर्शन भएका छन् भने यो क्रम अहिले पनि जारी नै छ । प्रतिनिधिसभा तथा राष्ट्रियसभामा पनि प्रदेश नामकरण र त्यसपछि भइरहेका आन्दोलनबारे प्रश्न उठिरहेका छन् ।
यो अवस्थामा माओवादी केन्द्र कोशी नामकरणको विषयमा आफ्नो निर्णयबाट पछि हटेको हो । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले आज (बुधबार) पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले माओवादी पहिचानकै पक्षमा उभिएको बताए । ‘कोशी प्रदेश नामाकरण भएपछि अहिले आन्दोलन उठिरहेको छ । हाम्रो पार्टीप्रति के हो अडान ? भनेर प्रश्न उठिरहेको छ’, उनले भने, ‘त्यसमा हाम्रो पार्टी पहिचानको पक्षमा छ । त्यतिबेला पनि पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो कमजोरी भएको छ ।’
नामाकरणपछि पहिचानको आन्दोलनको क्रममा भएको मृत्तक भएकाहरूलाई सहिद घोषणा गर्न र राहतको लागि सरकारसँग माग गरेको छ । यस्तै, मिटरव्याजपीडितको आन्दोलनमा पार्टीको समर्थन रहेको उनले जानकारी दिए ।




















प्रतिक्रिया