काठमाडौं । नेपालको पुरानो र देशकै ठूलो राजनीतिक दल नेपाली कांग्रेस गुटगत राजनीतिले थलिएको छ । गुटगत राजनीतिको प्रतिस्पर्धामा अल्झिँदा पार्टीलाई त प्रभाव परेको छ नै, संसद्को ठूलो दल आफैँभित्र मिलेर अघि बढ्न नसक्दा यसको परोक्ष असर समग्र मुलुकले पनि बेहोर्नुपरेको छ । केन्द्रमै विद्यमान गुटगत राजनीतिबाट तल्लो तह मुक्त हुने कुरै भएन ।
यतिबेला नेपाली कांग्रेस महासमिति बैठक (नीति अधिवेशन)को संघारमा छ । पार्टीभित्र कांग्रेसलाई कस्तो बनाउने भन्ने बहस चर्को रुपमा चलिरहेको छ । तर महासमिति बैठक अघि पनि एकतावद्ध हुनुको साटो विभिन्न गुट–उपगुट नै सक्रिय देखिन्छ ।
शेरबहादुर देउवा खेमा (संस्थापन), संस्थापन इतर शेखर कोइराला समूह, कृष्णप्रसाद सिटौला समूह, प्रकाशमान सिंह समूह गरी विभिन्न समूहमा कांग्रेस विभाजित छ । तर पछिल्लो समय सिटौला र सिंहको झुकाव संस्थापनतिरै छ । शेखर समूहमा रहेका महामन्त्री गगन थापा पनि आफ्नो छुट्टै गुट निर्माणमा सक्रिय जस्तै देखिन्छन् ।
कार्यसम्पादन समिति बैठक, महासमिति बैठक र राष्ट्रियसभा निर्वाचन नजिकिएसँगै पार्टीमा समान हैसियत खोज्न आज (बुधबार) मात्रै शेखर कोइराला समूहले छुट्टै भेला बोलायो । यही २९ गते कांग्रेसको कार्य सम्पादन समितिको बैठक छ । त्यसपछि पुस १६–१९ का लागि महासमिति बैठकको मिति तय भइसकेको छ भने माघ ११ गते राष्ट्रियसभा निर्वाच हुँदैछ । त्यसअघि इतर पक्ष छलफलमा जुटेको हो ।
गुटैगुटको राजनीति विद्यमान रहेका कांग्रेसमा पार्टी बैठक वा कुनै निर्णय लिनु अघि गुटको भेला बोलाउनु सामान्य जस्तै हो । विगतदेखि नै संस्थापन इतर पक्षले पार्टीको बैठक वा कुनै संस्थागत निर्णय लिनु अघि यसैगरी छुट्टै भेला बोलाउने गर्थ्यो । बरु भेला नबोलाएको अवस्थामा गुटको नेतामाथि नै विभिन्न आरोप र प्रश्न गुटकै नेताले उठाउने गर्थे ।
आजको बैठकमा नेताहरूले खासगरी शेखर–गगनबीचकै मतभेदको विषय उठाएका थिए । सारमा भन्नुपर्दा ‘शेखर र गगनमध्ये कोही एकविना इतर समूह अपूर्ण हुन्छ’ भन्ने मत नेताहरूको थियो ।
तर यसपटक नेता शेखर कोइरालालाई आफ्नो समूहको भेला बोलाउन त्यत्ति सहज भएन । गुटबाट पनि उपगुट जन्मिने संकेत देखेपछि उनी बैठक नै एक दिन पछि धकेलेर सोमबार महामन्त्री गगन थापासँग संवादमा बसे ।
संसदीय दलको नेता चयनयता शेखर–गगनबीचको दुरी बढ्न थालेको हो । सभापति देउवासँग दलको नेतामा प्रतिस्पर्धा गरेका गगनले इतर समूहसँग रहेको ३२ मध्ये २५ भोट मात्र पाए । त्यसयता शेखरसँग गगन असन्तुष्ट रहँदै आएका थिए । पछि कोशी प्रदेशको सरकार बनाउने बेला एमालेसँग शेखर उभिएपछि गगन थप असन्तुष्ट बने ।
यस्तो अवस्थामा शेखरले उल्टै विनापरामर्श गुटको बैठक बोलाएपछि आफ्नै गुट निर्माण गर्न चाहेका गगनले पनि बैठकमा उपस्थिति नहुने अडान राखेका थिए । तर समूहका अन्य नेताले गगनलाई गुमाउन नचाहेपछि उनीहरूकै जोडबलमा महामन्त्री गगनसँग शेखरले सोमबार नेता अर्जुननरसिंह केसीको घरमा झन्डै तीन घण्टा वार्ता गरेका थिए ।
फलस्वरुप आजको बैठकमा महामन्त्री थापासमेत उपस्थित भए भने दुई नेताबीच संसदीय दलको मत परिणाम, कोशी प्रकरण, आफ्ना समूहको मन्त्री छनोटलगायतका विषयमा भएका कमजोरी आत्मसमीक्षा गर्ने तथा जानेर वा नजानेर विगतमा गरिएका गल्तीलाई बिर्सिएर समूह एकढिक्का बनाउनेबारे सहमति जुटेको एक नेताले जानकारी दिए ।
बुधबारको बैठकमा पनि नेता शेखर कोइरालाले १४औँ महाधिवेशनको टिममा कुनै मतान्तर नरहेको भन्दै गुट एकढिक्का रहेको दाबी गरे । बैठकपछि उनले महामन्त्री गगनसँग र आफूबीच एजेन्डाको सवालमा कुनै समस्या नभएको स्पष्टीकरण दिए । समूह ठीक ढंगले चलेको उनको दाबी थियो । ‘एजेन्डाको सवालमा महामन्त्रीजीसँग मेरो केही पनि फरक छैन । एक इन्च पनि फरक छैन’, उनले भने, ‘उहाँको उमेर र सोचाइ मसँग फरक छ । त्यो स्वाभाविक हो । त्यसले मात्रै हो । एजेन्डामा कुनै समस्या छैन ।’
महामन्त्री गगन थापाको तर्क पनि नेता शेखरसँग मिल्दो थियो । ‘हाम्रो बीचमा कम छलफल गर्दा समस्या देखिएका हुन् । मूलभूत रुपमा हामी सबै एकै ठाउँमा छौं’, उनले भने, ‘तर, कार्यशैलीगत सवालमा केही असमझदारी होलान्, संवादबाट हल गर्छौं ।’
आजको बैठकमा नेताहरूले खासगरी शेखर–गगनबीचकै मतभेदको विषय उठाएका थिए । सारमा भन्नुपर्दा ‘शेखर र गगनमध्ये कोही एकविना इतर समूह अपूर्ण हुन्छ’ भन्ने मत नेताहरूको थियो ।
सिंगो कांग्रेसलाई नै एकढिक्का बनाउन पहल गर्नुपर्ने नेताहरू नै यसरी गुटलाई मजबुत बनाउने प्रयासमा केन्द्रित भएपछि पार्टी थप कमजोर अवस्थामा पुग्ने शुभेच्छुक तथा सरोकारवालाको चिन्ता छ ।
आशा गरिएका विश्वप्रकाश शर्मा, गगन थापालगायत युवा भनिएका नेता पनि सिंगो पार्टीलाई एक ढिक्का बनाउनेतर्फ नलागि आ–आफ्नो गुटमा सक्रिय भएकोप्रति पुराना नेता कोइराला चिन्तित छन् ।
नेपाली कांग्रेसका पुराना नेता विपिन कोइराला त्याग र निष्ठाको राजनीति नहुँदा कांग्रेसमा गुटउपगुट मौलाउँदै गएको बताउँछन् । नेपाल विद्यार्थी संघका संस्थापक अध्यक्षसमेत रहेका कोइरालाका अनुसार पहिला कांग्रेसमा नेताहरूले एकले अर्काको लागि त्याग गर्नुका साथै गुट निर्माण हुने वातावरण बन्नै दिँदैनथे ।
‘विपी कोइराला, शुवर्ण शमेशर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईबीच केही असन्तुष्टिका कुरा आयो कि बेलुका चारै जना बस्थे, तपाईँको बारेमा फलानोले यसो भन्यो, ढिस्कानाले त्यसो भन्यो भनाभन गर्थे । अनि वास्तविकता के हो आ–आफैले बोल्थे । गुटको व्यवस्थापन भइहाल्थ्यो । गुट बन्नै पाएन’, विगतका नेतृत्वले एकले अर्काको लागि त्याग गरेका उदाहरण सुनाउँदै उनले भने, ‘२०१५ सुवर्णले विपीलाई प्रधानमन्त्री हुन ठाउँ छाडिदिए, २०४६ को जआन्दोलनमा पछि वीरेन्द्रबाट गणेशमानलाई प्रधानमन्त्रीको प्रस्ताव आउँदा कृष्णप्रसाद हुनुपर्छ भनेर अघि सारे । त्यसरी एकले अर्कालाई त्याग गर्ने विरासत बोकेको कांग्रेस हो ।’
पुराना नेता कोइराला विपी–गणेशमान पुस्ताकै गिरिजा कोइरालाको पालादेखि कांग्रेसमा निष्ठाको राजनीतिमा स्खलन हुनका साथै सत्ताकेन्द्रित गुटको राजनीति मौलाएको बताउँछन् । ‘गिरिजाबाबु आइसकेपछि निष्ठाको राजनीतिको स्खलन हुन थाल्यो । सत्ता राजनीतिमा मात्रै कांग्रेसको ध्यान केन्द्रित हुन थाल्यो । त्यसपछि गिरिजबाबु कै सत्ताकेन्द्रित राजनीतिको बिँडो देउवाले थाम्नुभयो’, उनले भने, ‘अहिले के देखियो भने पुरानो पुस्ता आर्यघाट नगएसम्म सत्ता र शक्तिबाट बाहिरिन नचाहने, नयाँ पुस्ता नयाँ नारा लिएर अलिअलि छटपटाको देखिन्छ । तर पछि फेरि सेलाउँछ । अहिलेका युवा भनिएका धेरै जसो नेविसंघका सभापति माहमन्त्री भएकाहरू हुन् । अब सबै एक हुन्छन् कि भन्यो, फेरि कोही सिटौलाको पुछार समाउँछन्, कोही कोइरालाको र कोही देउवाको ।’
आशा गरिएका विश्वप्रकाश शर्मा, गगन थापालगायत युवा भनिएका नेता पनि सिंगो पार्टीलाई एक ढिक्का बनाउनेतर्फ नलागि आ–आफ्नो गुटमा सक्रिय भएकोप्रति पुराना नेता कोइराला चिन्तित छन् । उनी भन्छन्, ‘अब यिनीहरूबाट पनि पार लाग्ने देखिएन !’
कुनै पनि पार्टी जीवन्त हुनलाई पुरानोले मार्ग प्रशस्त गर्दै जानुपर्ने र नयाँलाई अवसर दिँदै जानुपर्ने कोइरालाको धारणा छ । प्रतिभा हुने नेतृत्वका लागि पार्टीमा होस् वा सरकारमा एक कार्यकाल नै पर्याप्त हुने उनी बताउँछन् ।
गुट–उपगुटमै सबै रमाउँदा कांग्रेसले मुलुककाे प्रमुख शक्तिका रुपमा काम गर्न र गति लिन नसकेकाे काेइराला ठम्याइछ ।
प्रतिक्रिया