काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका एक साता बित्न लाग्यो । गत २०७९ माघ ९ गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त भएका उनले १० महिनापछि सुटुक्क मंसिर २० गते राजीनामा दिएका हुन् । तर अहिलेसम्म स्वीकृत भने भएको छैन ।
राज्यबाट मन्त्रीसरहको सेवासुविधा पाइने प्रमुख सल्लाहकार पदबाट गजुरेलले राजीनामा दिएपछि यसबारे विभिन्न कोणबाट चर्चा भइरहेको छ । नेता गजुरेल स्वयंले आफ्नो राजीनामाको कारणबारे खुलेर प्रतिक्रिया नदिँदा यसबारे अनेकन् काेणबाट विश्लेषण भइरहेको हो । माओवादी उपमहासचिवसमेत रहेका गजुरेल स्वयंले भने राजीनामा स्वीकृत भएपछि मात्र मुख खोल्ने बताएका छन् ।
राष्ट्रियसभा निर्वाचनको सम्मुखमा राजीनामा दिएकाले कतिपयले नेता गजुरेल राष्ट्रियसभा छिर्ने तयारीमा रहेको अनुमान गरेका छन् । कतिले आफ्नो सल्लाहअनुसार प्रधानमन्त्री नचल्दा र केहीले सरकारमाथि उठेका प्रश्नहरूको भागीदार बन्न नचाहेकाले उनको राजीनामा आएको रूपमा अर्थ्याएका छन् । प्रधानमन्त्रीले ‘बाल’ नदिएकाले पनि उनले पदबाट हट्न चाहेकाे माओवादीकै नेताहरू बताउँछन् ।
माओवादीका एक नेताले पछिल्लो समय प्रधानमन्त्रीकै बेवास्ताका कारण गजुरेल टाढिएकाे बताए । प्रधानमन्त्रीले आफ्नो सल्लाह नसुन्नुका साथै भेट गर्नसमेत समय नदिएपछि जगुरेल झन् असन्तुष्ट बनेको नाम नखुलाउने शर्तमा माओवादीका ती नेताले बताए। ‘एकाध महिनायता नै उहाँ निकै असन्तुष्ट हुनुहुन्थ्याे । सल्लाहकार भन्ने तर केही कुरा पनि नसुन्ने, अझ भेट्ने समयसम्म नपाउने स्थिति बनेको सुनिन्थ्यो’, अनलाइनापानासँग ती नेताले भने ।
आफू प्रधानमन्त्रीको बेवास्तामा परेकै मौकामा गजुरेलले राजीनामा दिनुको अर्को उद्देश्य राष्ट्रियसभा प्रवेश रहेको पनि हुन सक्ने ती माओवादी नेता बताउँछन् । ०८४ मा पनि टिकट पाउने कुनै ‘ग्यारेन्टी’ नभएका कारण अहिले नै राष्ट्रियसभामा प्रवेश गरिहालौं भन्ने गजुरेलको चाहना रहेको हुन सक्ने उनी बताउँछन् । ‘राष्ट्रियसभा चुनाव आउँदैछ । ०८४ मा पनि टिकट पाउने निश्चित छैन’, ती नेता भन्छन्, ‘त्यसो हुँदा राष्ट्रियसभा गइहालौं भन्ने हिसाबले लाग्नुभएको जस्तो लाग्छ ।’ यस विषयमा नेता गजुरेलसँग जानकारी लिन खाेज्दा उनी सम्पर्कमा आएनन् ।
अहिले नेता गजुरेल संसदमा छैनन् । तर गजुरेलले राजीनामा दिएपनि राष्ट्रियसभाका लागि टिकट पाउने नपाउने भने निश्चित छैन । उनको उद्देश्य राष्ट्रियसभा सदस्य हुँदै राष्ट्रियसभा अध्यक्ष बन्नेसम्मको रहेको बताइन्छ । अहिलेका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि आगामी फागुन २० मै पदावधि सकिने भएकाले गजुरेलको आँखा त्यहाँसम्म पुगेको विश्लेषकहरू बताउँछन् ।
पदावधि सकिने २० सांसदहरूमा अध्यक्ष तिमिल्सिनासहित एमालेका ९, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना छन् । जसका लागि माघ ११ गते कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुँदैछ ।
संसदीय निर्वाचनमा सिन्धुली–२ बाट निरन्तर जित्दै आएका गजुरेललाई गत आमनिर्वाचनमा भने टिकट नै दिइएन । त्यसयता उनी पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । सोही असन्तुष्टि सम्बोधनार्थ प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रमुख राजनीतिक सल्लाहकार बनाएपनि नेता गजुरेल पूर्ण रुपम सन्तुष्ट हुन नसकेको बताइन्थ्यो । त्यसो त नेकपा विभाजनताका नेता गजुरेललाई ठूलै जोडबलतमार्फत माओवादी कित्तामा उभ्याइएको माओवादी नेताहरूले नै बताउने गरेकाछन् ।
प्रतिक्रिया