Logo

राजनीति

गगनको ‘शेखर कार्ड’ : देउवाको बहिर्गमन गराएर ‘शक्ति हात पार्ने’ दाउ



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा संसदीय दलका नेता फेर्ने अभियानमा निरन्तर छन् । अब प्रधानमन्त्री खाने पालो कांग्रेसमा आउँदा सभापति शेरबहादुर देउवाबाहेकका दोस्रो पुस्ताका व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ भन्ने उनको स्पष्ट लाइन छ ।

सके आफैँ नभए आफ्नै पुस्ताका अन्य नेतालाई दलको नेता हुँदै प्रधानमन्त्री बनाउने महामन्त्री थापाको अठोट छ । उनले बुधबार बत्तिसपुत्तलीस्थित अनुपम फूडल्याण्डमा बसेको संस्थापन इतर समूहको बैठकमा पनि दलको नेता परिवर्तनको सवाल उठाए ।

महामन्त्री थापाले इतर समूहको बैठकमा डा. शेखर कोइराला दलको नेता बनाउन लागिपर्न आग्रह मात्र गरेनन्, उनले दलको नेता परिवर्तन नभएको अवस्थामा पार्टीको आगामी महाविधेशन नै हुन नसक्ने पनि बताए । ‘संसदीय दलको नेता फेर्नुपछ । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन’, थापाको भनाइ थियो ।

२०७९ पुस ५ मा सम्पन्न संसदीय दलको चुनावमा पार्टी सभापति देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री थापाको यस्तो अभियानलाई चासोका साथ हेरिएको छ । त्यसबेला थापाले २५ मत पाउँदा ६४ मत पाएर देउवा दलको नेता चुनिए । त्यसबेला इतर पक्षका ३२ मध्ये ७ सांसदले पनि देउवालाई नै मत हालेका थिए ।

अहिले कांग्रेससँग ८८ सांसद छन् । यसअघि देउवालाई मत हाल्ने इतर पक्षका ७ सांसदले पनि विपक्षमै हालेपनि संस्थापन पक्षसँग ५७ मत सुरक्षित नै छ । यस्ताे अवस्थामा दलका नेता चुन्न इतर पक्षले थप १३ मत जुटाउनुपर्ने हुन्छ, जुन असम्भव जस्तै हाे ।

संस्थापन पक्षसँग बहुमत सा‌ंसद रहेका अवस्थामा दलका नेता परिवर्तन गर्न ठूलै गृहकार्य गर्नुपर्ने कांग्रेस इतर पक्षकै नेता गुरुराज घिमिरे बताउँछन् । पहिला गणितीय रुपमा बलियो हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि शेखर–गगनले जे सहयोग मागेपनि आफूहरू त्यसैगरी अगाडि बढ्ने बताए ।

‘संगठनमा पहुँच भएपछि त जे पनि गर्न सकिन्छ भनेर गगनले शेखरप्रति सदासयता पनि देखाएजस्तो गरे । अनि संगठनतिरबाट पन्छाएर सरकारतिर पठाउने उनको उद्देश्य हुन सक्छ’

‘नेता फेर्न संसदीय गणितको कुरा हुन्छ । त्यसकारण अब गृहकार्य गरेर पहिला गणितीय रुपमा बलियो हुनुपर्यो’, नेता घिमिरेले भने, ‘उहाँहरूले त्यो निर्णय गरेर गृहकार्य अगाडि बढाउनुभयो भने हामीले जे सहयोग माग्नुहुन्छ, त्यसैगरी अगाडि बढ्छौं ।’

इतर समूहमा पनि महान्त्री थापाका विश्वासपात्र मानिने कोशी प्रदेश सांसद विनोद राई दलको नेता फेर्नु अहिलेको आवश्यकता भएको बताउँछन् । ‘राजनीतिक दल परिर्वतनगामी हुनुपर्छ । केही नगर्ने एउटै मान्छेले सधैँभरी पदलाई ओगट्नु हुँदैन’, उनले भने, ‘यो समय र कांग्रेसको आवश्यकता हो ।’

नेता राईले कांग्रेसलाई अब नयाँ ढंगले अगाडि बढाउनका निम्ति दलको नेता स्वयंले राजीनामा दिनुपर्ने बताउँछन् । ‘हालको संसदीय दलको नेताले मार्ग प्रशस्त गरिदिए राम्रो’, उनी भन्छन्, ‘मार्ग प्रशस्त नगरेको अवस्थामा राजनीतिमा भिडेरै जाने हो, भिड्नुपर्छ ।’

कांग्रेस संस्थापन पक्षले भने विधान बमोजिम दलको नेता फेरेर देखाउन इतर समूहलाई चुनौती दिएको छ । कांग्रेसका सचेतक सुशिला थिङ कुनै व्यक्तिलाई परिवर्तन गर्न मन लाग्यो भन्दैमा जतिखेर भन्यो त्यत्तिखेर दलको नेता परिवर्तन नहुने बताउँछिन् ।

‘दलको नेता विधान बमोजिम परिवर्तन गर्न मिल्छ । वैधानिक रुपमा प्रक्रियाबाट आउन सके डा. साब (शेखर कोइराला) आएपनि, महामन्त्री (गगन थापा) आउनुभएपनि स्वागतै छ’, सचेतक थिङ भन्छिन्, ‘तर दलको नेता भनेको कुनै व्यक्तिलाई परिवर्तन गर्न मन लाग्यो भन्दैमा जतिखेर भन्यो त्यत्तिखेर हुने कुरा होइन । र, एक चोटी संसदीय दलको निर्वाचनबाट निर्वाचित भइसकेको अवस्थामा फेरि त्यो अयोग्य छ भन्नु चाहिँ जसले आवाज उठायो त्यो योग्य जस्तो मलाई लाग्दैन ।’

दलको नेतामा किन शेखरलाई नै चाहन्छन् गगन ?

दलको नेता परिवर्तन गर्ने महामन्त्री गगन थापाको चाहना नयाँ होइन । २०७९ मंसिरमा सम्पन्न आमनिर्वाचन पछि आफैँ दलका नेता बन्ने प्रयत्न गरेका उनले अहिले भने शेखर कोइरालालाई दलको नेता बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।

महामन्त्री थापाले दलको नेतामा शेखरलाई नै चाहनुमा वृद्ध पुस्ताका देउवालाई विश्राम दिलाउन मात्र नभई अर्को पनि उद्देश्य हुन सक्ने विश्लेषकहरू बताउँछन् ।

विश्लेषक प्रा.डा. लोकराज बराल देउवाको ‘लिडरशीप’बाट कांग्रेस नचल्ने अवस्थामा पुगेपछि पार्टीमा दलको नेता परिवर्तनको आवाज उठ्नु स्वभाविक भएपनि यसको पछाडि महामन्त्री थापाको अर्कै उद्देश्य पनि लुकेको हुन सक्ने बताउँछन् ।

‘चलाखी त फेरि शेखरले के नबुझ्नु ! यसअघि नै प्रधानमन्त्री भन्दा पार्टीको सभापति बन्ने भनेर शेखर लडेकै हुन्’

‘देउवाबाट कांग्रेस चल्दैन, लिडरशीप नै उनमा छैन । यो बुझेकाहरूले देउवाको विकल्प खोज्नु ठिकै हो । यो देउवाविरुद्धकै दबाब हो’, विश्लेषक बराल भन्छन्, ‘तर यसको पछाडि गगनको अर्को के हुन सक्छ भने शेखरलाई प्रधानमन्त्री बनाउने भनेर उक्साइदिने अनि आफू पार्टी सभापतितिर लाग्ने, नेतृत्व लिने भन्ने पनि हुन सक्छ ।’

महामन्त्री थापाले शखेरप्रति सदासयता देखाएजस्तो गरेर आफू सभापति बन्ने बाटोमा अघि बढ्न खोजेको हुनसक्ने बरालको विश्लेषण छ । ‘संगठनमा पहुँच भएपछि त जे पनि गर्न सकिन्छ भनेर गगनले शेखरप्रति सदासयता पनि देखाएजस्तो गरे । अनि संगठनतिरबाट पन्छाएर शेखरलाई सरकारतिर पठाउने उनको उद्देश्य हुन सक्छ’, उनले भने ।

यद्यपि महामन्त्री थापाको उक्त चलाखी शेखरले पनि बुझ्ने डा. बराल बताउँछन् । ‘चलाखी त फेरि शेखरले के नबुझ्नु ! यसअघि नै प्रधानमन्त्री भन्दा पार्टीको सभापति बन्ने भनेर शेखर लडेकै हुन्’, उनले भने ।

इतर समूहकै नेता गुरुराज घिमिरे भित्र अन्तरकुन्तरका कुरा भने आफूहरूलाई थाहा नहुने बताउँछन् । ‘भित्र अन्तरकुन्तरका कुरा छ भने त्यो विश्लेषकहरूकै जिम्मा । तर हामीले त सोझै बुझ्ने हो नि’, उनले भने, ‘भित्री कुरा भए समयक्रमले देखाउँछ ।’

प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार  ६ : २६ बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।