काठमाडौं । सरकारले कोशी प्रदेशको नामकरणविरूद्ध भएको आन्दोलनमा ज्यान गुमाएका पदमबहादुर लिम्बुलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको उनले बताइन् ।
यसअघि कोशी प्रदेश सरकारले लिम्बुको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको थियो । आन्दोलनकारीले उक्त रकम अस्वीकार गरेका थिए । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला यही चैत ५ गते विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रहरीको लाठी लागेर घाइते भएका ४२ वर्षीय लिम्बुको उपचारको क्रममा मृत्यु भएको थियो ।
धरान उपमहानगरपालिका–१५ बस्दै आएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सहकमाण्डर हुन् । लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो ।




















प्रतिक्रिया