Logo

अर्थ

एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ भन्छन्- ‘सबै ग्राहकको पैसा सुरक्षित छ, ढुक्क हुनुस्’



काठमाडौं । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले सम्पूर्ण ग्राहकको पैसा सुरक्षित रहेको बताएका छन् । केहीदिन अघि एभ्रेष्ट बैंकमा रहेको ग्राहककाे खाताबाट पैसा अन्यत्र ट्रान्सफर भएकाे भनिएको विषयलाई लिएर सीईओ खालिङले सबै ग्राहकको रकम सुरक्षित रहेकाले ढुक्क रहन आग्रह गरे ।

बैंकको बानेश्वर शाखामा खाता रहेकी रेखा गुरुङको खाताबाट एक पटक पाँच लाख र अर्को पटक दुई लाख गायब भएको भनि केही संचारमाध्य र सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो । अहिले उक्त पैसा ग्राहककै खाता फिर्ता आइसकेको छ ।

बैङ्किङ क्षेत्रमा हुने यो सामान्य प्राविधिक समस्यालाई एकतर्फी रुपमा बढाइचढाइ गरी केही मिडियामा समाचार सम्प्रेषण भएको सीईओ खालिङ बताउँछन् । ‘एउटा पाटोलाई मात्र हेरेर हुँदैन । यो यत्ति धेरै बढाइचढाइ गर्नुपने विषय होइन’, अनलाइनपानासँग सीईओ खालिङले भने, ‘सबै ग्राहकको पैसा सुरक्षित छ । कोही आत्तिनुपर्ने छैन ।’

बैंक हरेक हिसाबले मजबुत रहेको भन्दै ५/७ लाखको विषयमा आत्तिनु नपर्ने उनले बताए । ‘यत्रौ बैंकको रिर्जभ छ । क्यापिटल छ । हामी स्ट्रोङ छौं । तर ५/७ लाखको विषयलाई यत्ति धेरै बढाइचढाई होइन, बुझेर लेख्दिनुस्’, उनले आग्रह गरे ।

बैंकका तर्फबाट गल्ती भएको पाइए त्यसलाई आफूहरुले ढाकछोप नगर्ने पनि सीईओ खालिङले बताए । ‘ढाकछोप गर्ने कुरै छैन’, उनले भने, ‘घटनाबारे छानबिन भइरहेको छ । गल्ती देखिएको दोषीलाई कारबाही हुन्छ ।’

कतिपय मिडियाले खराब नियतले नै गलत, भ्रामक तथा बढाइचढाई समाचार सम्प्रेषण गर्ने गरेको भन्दै सीईओ खालिङले गुनासो पनि गरे । ‘कतिकाे त नियतै खराब’, उनले भने, ‘बैंकले गल्ती गरे कानुन छ, बैंकङ कसुरले कारबाही गरिहाल्छ नि !

ग्राहकको खाताबाट पैसा ट्रान्सफर बैंकका इनरुवा खाशाबाट भएको र अहिले ती कर्मचारी प्रहरी अनुसन्धानमा रहेका बताइएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार २०:३८   :  बजे

1.9K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।