काठमाडौं । गोविन्दराज जोशी समूहले अहिलेका लागि नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेको छ ।
बुधबार एक विज्ञप्ति जारी गर्दै जोशीले कांग्रेस नेताहरुसँगको वार्ता झुक्याउने प्रयत्न मात्र भएको र गोविन्दराज जोशी समेतको कारबाही फिर्ता भयो भनेर झुटो प्रचार गरिएको भन्दै आजदेखि वार्ता समाप्त भएको घोषणा गरेका हुन् ।
वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोविन्दराज जोशीका छोरा दीपकसँग छलफल गरेका थिए । तर सो छलफल निष्कर्षविहीन भएको थियो । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचनमा कांग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ ।
कांग्रेस छाडेर स्वणिर्म वाग्ले रास्वपाबाट उम्मेदवार बनेका छन् । जोशीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उहाँहरूले वार्तामा मूल समस्या समाधान गर्ने चासो नदेखाउनु भएका कारण वार्ता समाप्त भयो ।’ कांग्रेसबाट विभिन्न कारणले अलग्गिएकाहरुलाई सम्मानका साथ समेटेर पार्टीलाई बलियो बनाउनुपर्ने धारणा राख्दै आएको छ ।
‘नेपाली कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता हामीलाई झुक्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको महसुस हामीले गरेका छौँ । आजदेखि नेपाली कांग्रेससँग हाम्रो यो चरणको वार्ता समाप्त भएको घोषणा समेत गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
जोशीले वैशाख १० गते हुने तनहुँ–१ को उपनिर्वाचनमा आफ्ना कार्यकर्तालाई स्वतन्त्र भएर मताधिकार प्रयोग गर्न आग्रह गरेको छ ।




















प्रतिक्रिया