Logo

प्रमुख समाचार

कांग्रेसद्वारा केन्द्रीय सदस्य कोइरालासहितका नेताहरुकाे कारबाही फिर्ता



काठमाडौं । उपनिर्वाचन नजिकिएसँगै नेपाली कांग्रेसले गत ४ मंसिरको आमचुनावअघि गरेको पार्टीका नेताहरुमाथिको कारबाही धमाधम फुकुवा गरेको छ । यसअघि नतहुँका गोविन्दराज जोशीमाथिको कारबाही फुकुवाकाे निर्णय गरेकाे कांग्रेसले आज चितवनका नेता तथा केन्द्रीय सदस्य दिनेश कोइरालामाथिको कारबाही पनि फुकुवा गरेको छ ।

पार्टी अनुशासन समितिले मंगलबार निर्णय गर्दै कोइरालामाथिको कारबाही फुकुवा गरेको हो । विस २०७४ साल र विस २०७९ सालमा भएको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा वागी उमेदवार बनेका र उनीहरूका प्रस्तावक समर्थक बसेका सबैको कारबाही फिर्ता गरेको हो ।

केन्द्रीय सदस्य दिनेश कोइराला गएको निर्वाचनमा चितवन–३ मा वागी उमेदवार बनेका थिए । निर्णयअनुसार तनहुँ, चितवन र बारा जिल्लाका नेता कार्यकर्ताको कारबाही फिर्ता भएको हो ।

‘निर्वाचनमा पार्टीका आधिकारिक उमेदवार तथा पार्टीले समर्थन गरेका उमेदवारका विरुद्ध वागी उम्मेदवारी दिएका र त्यस्ता वागी उमेदवारका प्रस्तावक र समर्थक बसेका तथा पार्टी र पार्टीको उमेदवारको हित विपरितका गतिविधिमा संलग्न भएका कारण, पार्टी विधान र नियमावली बमोजिम स्वतः कारबाहीमा परेका तथा पार्टीको जिल्ला, प्रदेश र केन्द्रीय अनुशासन समितिको निर्णयबाट अनुशासनको कारबाहीमा परेका तनहुँ, चितवन र बारा जिल्लाका पार्टीका सम्पूर्ण सदस्यहरूको अनुशासनको कारबाही आजैका मितिदेखि लागु हुने गरी फुकुवा गरिएको छ’, विज्ञप्तिमा लेखिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलवार १९:१६   :  बजे

150
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।