Logo

अर्थ

जलविद्युत् उत्पादनको सम्भावनालाई यथार्थमा परिणत गर्न सहयोग गर्छौँ : अध्यक्ष ढकाल



काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत् उत्पादनको प्रचुर सम्भावलाई यथार्थमा परिणत गर्न निजी क्षेत्रले सहयोग गर्ने बताएका छन् । आजदेखि यहाँ शुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रममा उनले नेपालमा जलविद्युत् उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएको स्पष्ट पारे ।

अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरे । “नेपालमा जलविद्युत्लगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरु छिमेकमै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईँलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उनले भने ।

नेपालले गत वर्ष भारतमा विद्युत् निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उनले बङ्गलादेशको बजारका लागि पनि सरकारीतहबाट सकारात्मक कुराकानी भइरहेको बताए । अध्यक्ष ढकालले नेपाल सरकार तथा अन्य सरोकारवालालाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरे ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार २१:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।