Logo

राजनीति

नागरिकता विधेयकबारे प्रधानमन्त्रीले भने- ‘यसपटक गाँठो पार्ने होइन, फुकाउने राष्ट्रपति पाएका छौं’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता समस्या मधेशको मात्र नभइ देशकै भएको बताएका छन् । नागरिकता विधेयक रोकिएकोतर्फ संकेत गर्दै उनले यसपटक गाँठो पार्ने नभइ गाँठो फुकाउने राष्ट्रपति पाएको बताए ।

बिहीबार दिउँसो बाराको गढीमाईमा सत्ता गठबन्धन दलहरूद्वारा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नागरिकता समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिने पनि बताए । उनले भने, ‘यसपटक गाँठो पार्ने होइन, गाँठो फुकाउने राष्ट्रपति पाएका छौं । नागरिकता समस्या मधेसको मात्र समस्या होइन, देशको समस्या हो । यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गरिनेछ ।’

प्रधानमन्त्री प्रचण्डले निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै शिलान्यास गरिने पनि बताए । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनका बेला मैले भनेको थिएँ, निजगढ विमानस्थल छिट्टै अगाडि बढाउँछौं । म तपाईंहरूसामु प्रतिबद्धता व्यक्त गर्छु, निजगढ विमानस्थलको गृहकार्यसम्बन्धी काम सकेर छिट्टै यसको शिलान्यास गरिनेछ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले गढीमाई विकास समिति बनाएर यसको संरक्षण र प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय पर्यटनको केन्द्र बनाउन पहल गर्नेसमेत बताए । कोभिडको बेला बन्द भएको नाका पुनः सञ्चालन गरिने र विद्युतीय प्रणालीमार्फत सिँचाईको व्यवस्था गरिने उनको भनाइ छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १७:४८   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।