काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापाले दुर्घटनापछि रविको नाम लिएर बोलेको अडियो भन्दै सामाजिक सञ्जालमा एक अडियो भाइरल भइरहेको छ ।
उक्त अडियो मृतक थापाको हो कि होइन भन्ने यकिन भएको छैन । सामाजिक सञ्जालमा भने अडियो भाइरल भइरहेको छ । अडियोमा रवि लामिछानेको नाम लिएको प्रष्ट सुन्न सकिन्छ तर अन्य बोलेको कुरा प्रष्ट सुनन सकिन्न । मुटुको धड्कन जाँच्दा आएको जस्तो आवाज पनि आएजस्तो सुनिन्छ । अन्य बोलेको शब्द बुझ्न गाह्रो हुन्छ ।
अडियो कहाँबाट कसरी बाहिरियो भन्नेबारे कतै खुलेको छैन । तर कुनै पुरुषले उपचारका बेला बोलेकोजस्तो सुनिन्छ । व्यक्तिले रविको नाम भने पटक पटक लिएको सुनिन्छ । सभापति लामिछाने चुनावी प्रचारमा रहेका बेला वैशाख ४ गते बिहान पौने ४ बजेतिर थापा चितवनस्थित रवि लामिछानेकै घरको छतबाट खसेका थिए।
उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको थियो । थापालाई तत्काल भरतपुर अस्पताल पुर्याइएको थियो । सुरूमा भरतपुरमै उपचार गरेपछि थापालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार थालिएको थियो। सुरूदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भएको अस्पतालले जानकारी दिएको थियो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको घोषणा गरिएको छ। अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।
सवारी चालक थापाको मृत्यु रहस्यमय रहेको भन्दै प्रहरीले समेत यसको छानबिन गरिरहेको छ । तर प्रहरीले मदिरा सेवनबाट चालक छतबाट झरेको हुनसक्ने प्रारम्भिक सूचना सार्वजनिक गरेको छ । प्रहरीले मदिराका बोतल समेत उक्त स्थानमा भेट्टाएको जनाएको छ । घटना भएको दिन डइभर थापा दुईतल्ला माथि छतमा सुतेको र रवि लामिछाने घरको अन्तिम तलमा सुतेको बताइएको थियो । रास्वपाका प्रवक्ता समेत रहेका मुकुल ढकालसमेत घटनाको दिनमा उक्त घरमा रहेको बताइएको थियो । कतिपयले रवि लामिछानेलाई फसाउन यस्ता खालका प्रपञ्च रचिएको समेत बताइरहेका छन् ।
यस अडियोबारे सामाजिक सञ्जालमा पक्ष र विपक्षमा प्रतिक्रियाहरु आइरहेका छन् । सामाजिक सञ्जालमा फैलिएको यस अडियोबारे अनलाइनपानाले कुनै तथ्य फेला पारेको छैन । अडियो सामाजिक सञ्जालबाट लिइएको हो । यसको आधिकारिक पुष्टि नभएकाले अनलाइनपानाले यो अडियोबारे कुनै जिम्मेवारी भने लिने छैन ।




















प्रतिक्रिया