काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरबदलसँगै तीन वटा प्रदेशमा नेकपा एमालेले सरकार गुमाइसकेको छ । नेपाली कांग्रेस नेतृत्वको तत्कालीन गठबन्धन १० पुसमा एकाएक टुटेपछि बनेको नयाँ गठबन्धन दलबीच भागबन्डा गर्दा एमालेले ४ वटा प्रदेशको मुख्यमन्त्री पाएको थियो । तर पुनः पूरानै गठबन्धन ब्यूँतिएपछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेको सरकार ढलिसकेको छ ।
सुदूरपश्चिममा गत २६ माघमै एमालेका राजेन्द्रसिंह रावल नेतृत्वको सरकार ढलेको हो । २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त भएका उनले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि बहिर्गमन हुनु पर्यो ।
गण्डकीमा खगराज अधिकारी नेतृत्वका सरकार पनि ९ वैशाखमा ढल्यो । माओवादी केन्द्रसहितको समर्थनमा गत २५ पुसमा मुख्यमन्त्री बनेका उनले माओवादीले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिएका थिए । तर प्रदेशसभाबाट विश्वास गुमाएपछि गण्डकीमा पनि एमाले सरकार ढलेको हो ।
लुम्बिनीमा पनि दोस्रो पटक विश्वासको मत पाउन नसकेपछि एमालेका लिला गिरी नेतृत्वको प्रदेश सरकार ढल्यो । पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए । तर उनलाई समर्थन गरेका माओवादीसहितका ५ दलले १२ चैतमा समर्थन फिर्ता लिएपछि उनले ११ वैशाखमा दोस्रो पटक भने विश्वासको मत नपाएका हुन् ।
केन्द्रमा भएको फेरबदलसँगै चारमध्ये तीन वटा प्रदेशमा एमालेको सरकार ढल्दा कोशीमा भने टिकीरहेको छ । कोशीमा एमाले नै प्रदेशसभाको सबैभन्दा ठूलो दल हो । ९३ सदस्यीय प्रदेसभामा सरकार बन्न ४७ सांसदको समर्थन आवश्यक पर्छ । जहाँ एमाले एक्लैसँग ४० सांसद छन् ।
प्रदेशसभाको दोस्रो ठूलो दल कांग्रेसका २९, माओवादी केन्द्रका १३ (सभामुखसहित), नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् । अहिले एमालेका हिक्मत कार्की नेतृत्वको सरकारलाई माओवादी र राप्रपाको समर्थन छ । जसकारण कार्की नेतृत्वको एमाले सरकार डगमगाएको छैन ।
ढाल्न खोज्ने र टिक्न खोज्नेको आ–आफ्नै रणनीति
धमाधम तीन वटा प्रदेशमा एमालेबाट सरकारको नेतृत्व खोस्न सफल भएको कांग्रेस, माओवादीसहितको गठबन्धनले कोशीमा पनि एमाले सरकार ढाल्ने प्रयास गरिरहेको छ । तर अहिलेसम्म बहुमत नजुट्दा गठबन्धनको यो प्रयासले सार्थकता पाउन सकेको छैन ।
त्यसो त एमालेका हिक्मत कार्की नेतृत्वको सरकारको विपक्षमा रहेको माओवादी केन्द्रले अहिलेसम्म समर्थन फिर्ता लिएको छैन । केन्द्रको समीकरण अनुसार नयाँ सरकार बन्ने सुनिश्चितता नहुँदा माओवादीले सरकारलाई गत २४ पुसमा दिएको समर्थन कायमै राखेको छ ।
नयाँ सरकार बन्ने सुनिश्चित नभएसम्म समर्थन फिर्ता लिनुको अर्थ नरहेकाले कायमै राखेको माओवादी केन्द्रका कोशी प्रदेश सांसद गुम्बु शेर्पा ‘कज्र्याङ’ बताउँछन् । ‘कोशीमा अर्को सरकार बन्न सजिलो छैन’, उनले भने, ‘नयाँ सरकार बन्ने सुनिश्चित नभएसम्म समर्थन किन फिर्ता लिनुर भन्ने हाम्रो मान्यता हो ।’
नयाँ सरकार बन्ने सुनिश्चितता भए जुनसुकै बेला एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी तयार छ । त्यसका लागि गठबन्धनले प्रयास जारी राखेको छ । कांग्रेस कोशीका संसदीय दलका उपनेता हिमाल कार्कीले अब छिट्टै कोशीमा पनि केन्द्रको समीकरण अनुसार नयाँ सरकार बन्ने बताए । ‘केन्द्रकै समीकरण अनुसार कोशीमा छिट्टै नयाँ सरकार बन्छ । त्यसका लागि आपसी छलफल र कुराकानी भइरहेको छ’, उनले भने, ‘बजेट अधिवेशन अघि नै यहाँ नयाँ सरकार बन्छ ।’
उपनेता कार्कीले आफूहरुसँग बहुमत रहेको दाबी पनि गरे । कांग्रेस, माओवादी, नेकपा एस र जसपासँग सभामुखसहित ४७ सांसद त छन्, तर एमालेले सभामुखले मत हाल्न नपाउने भन्दै विरोध गर्दै आएको छ । कोशी कांग्रेस उपनेता कार्कीले भने सभामुखले निर्णायक मत हाल्न पाउने दाबी गरे । ‘हामी ४७ जना छौं । बहुमत नपुग्ने भन्ने छैन’, उनले भने, ‘सभामुखले निर्णायक मत हाल्न पाउने अधिकार छ । यो विवादको विषय बन्छ जस्तो मलाई लाग्दैन ।’
आफूहरुसँग ४६ र एमाले राप्रपासँग ४६ हुने भन्दै त्यस्तो अवस्थामा सभामुखको मत निर्णायक हुने उपनेता कार्कीको बताउँछन् ।
गठबन्धनकै अर्को दल एकीकृत समाजवादी कोशी प्रदेशसभाका प्रमुख सचेतक विद्या चाम्लिङले पनि १५ जेठ अघि नै नयाँ सरकार बन्ने बताइन् । ‘कोशीमा १५ जेठ भित्रमा सरकार परिवर्तन गरिसक्ने गरी छलफल चलिरहेको छ’, उनले भनिन्, ‘केन्द्रीय नेताहरु पनि यसका लागि छलफलमा हुनुहुन्छ ।’
कोशी प्रदेश सरकार ढाल्न गठबन्धन प्रयासरत रहँदा यो असम्भव रहेको एमालेको तर्क छ । कोशी प्रदेशमा ‘अंक गणित’ नै सरकार टिकाइराख्ने किसिमको रहेको र भागबन्डा सबैको चित्त बुझ्ने गरी गरिएकोले अहिलेकै सरकारले निरन्तरता पाउने एमाले कोशीका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।
‘अहिले जुन गठबन्धनको सरकार छ, यो रहिरन्छ’, उनले भने, ‘पहिलो कारण यहाँको गणित नै त्यस्तै खालको छ । यसैगरी गणितभित्र रहेर दलहरुबीच जसरी प्रदेश र संवैधानिक पदहरुमा जिम्मेवारीको बाँडफाँट भएको छ यो पनि सरकार टिक्ने अर्को कारण हो । तेस्रो कारण हामी अहिले जत्ति पनि दलहरु सरकारमा छौं, हामीबीचको सम्बन्ध एकदमै सहज छ । हामीहरुमा कुनै खटपट र वैमणष्यता छैन ।’
एमाले प्रमुख सचेतक भण्डारीले सरकार टिक्ने चेतावनीपूर्ण चौथो कारण पेश गरे । उनले अहिलेको एमालेकै सरकारमा रहेको माओवादी केन्द्रप्रति लक्षित गर्दै सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने प्रयत्न गरिए प्रदेशसभा नै विघटनसम्म हुन सक्ने चेतावनी दिए । ‘समर्थन फिर्ता लिने र सरकार फेरबदल गर्ने प्रयत्न गरियो भने संवैधानिक प्रावधानका हिसाबले प्रदेश एउटा दुर्घटनामा पुग्न सक्छ र त्यो के भने प्रदेशसभा विघटन भएर मध्यवधिमा जान सक्ने सम्भावना पनि छ ।’
राप्रपाको चित्त दुखाइ, छाड्न सक्छ एमालेको साथ
राप्रपा कोशी प्रदेशसभाको चौथो ठूलो दल भएपनि निर्णायक भूमिकामा देखिन्छ । राप्रपाले साथ दिए मात्र कोशी प्रदेशमा एमालेले गठबन्धनसँग पौंठेजोडी खेल्न सक्छ । तर राप्रपा पछिल्लो समय एमालेसँग त्यत्ति सन्तुष्ट देखिँदैन । खासगरी एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा र राजसंस्थामा आस्था राख्नेहरुप्रति गरेको तिखो टिप्पणीका कारण एमालेप्रति राप्रपाको चित्त दुखाइ छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले पछिलो समय पूर्व राजा ज्ञानेन्द्र शाहले आफूमाथि आक्रमण गर्न लगाएको र बढ्ता फुरफुर गरेको भन्दै हिसाबकिताब गर्नेसम्मको चेतावनी दिएका छन् । यसैगरी उनले ‘राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी हुन्छन्’ भनेका थिए ।
ओलीको यो टिप्पणीप्रति कोशी प्रदेशमा एमालेकै सरकारलाई साथ दिइरहेको राप्रपा असन्तुष्ट छ । राप्रपाका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले यसअघि नै यसप्रति आपत्ति जनाएका छन् ।
उता, राप्रपाका कोशी प्रदेशसभा सदस्य अम्बरबहादुर बिष्ट पनि ओलीको यो अभिव्यक्ति गलत भएको बताउँछन् । तर यही विषयलाई नै लिएर एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिइहाल्ने पक्षमा राप्रपा नरहेपनि एमालेलाई नै साथ दिइरहने भन्ने अवस्था पनि नरहन सक्ने उनले बताए ।
‘हामी धेरै गठबन्धन फेरफार गर्नेमा त विश्वास गर्दैनौं’, बिष्टले भने, ‘तर एमाले नेतृत्वको प्रदेश सरकारले निरन्तरता नपाउन पनि सक्छ । तर विधिवत निर्णय चाहिँ २३ गते बस्ने प्रदेश समितिको बैठकले गर्छ ।’
सांसद बिष्टले गठबन्धनबाट राप्रपालाई अनौपचारिक रुपमा मुख्यमन्त्रीको अफर आएको पनि बताए । ‘बाहिर बाहिर कुरा भएको हो’, उनले भने, ‘तर विधिवत रुपमा चाहिँ आएको छैन । आउने सम्भावना धेरै छ ।’
यस्तै ओलीको अभिव्यक्तिप्रति राप्रपाका अर्का प्रदेश सांसद गोपालबहादुर विश्वकर्मा पनि सन्तुष्ट छैनन् । ‘उहाँ (ओली)ले किन यस्तो भन्नु भो यो उहाँ आफैलाई थाहा होला’, उनले भने, ‘अहिले हामीले उहाँहरुको प्रदेश सरकार थामिदेका छौं । तर उहाँले के भन्न खोज्नुभाको हो ?’
यता एमाले कोशी प्रदेशका प्रमुख सचेतक भण्डारी अध्यक्ष ओलीको अभिव्यक्तिका कारण राप्रपाले चित्त दुखाउनु स्वभाविक भएपनि यसैलाई लिएर आफूहरुको साथ नछाड्ने विश्वास व्यक्त गर्छन् । ‘यसमा उहाँहरु(राप्रपा)ले चित्त दुखाउनु स्वभाविक हो’, उनले भने, ‘तर यसबारे शीर्ष तहमा छलफल र परामर्श भई यो विषयमा समझदारीको वातावरण बन्छ भन्नेमा हामी विश्वस्त छौं ।’
प्रतिक्रिया