काठमाडौँ । मर्जर प्रक्रियामा रहेका जीवन बिमा कम्पनीहरु यूनियन, गुराँस र प्राइम लाइफले वैशाख २६ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
कम्पनीहरुले ‘हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् । मर्जरमा जान लागेको प्राइम लाइफको दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड चुक्ता पुँजी छ । यी कम्पनीहरु वान इच टु वानको रेसियोमा मर्जर हुन लागेका हुन् ।
एकीकृत कारोबारपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ७ अर्ब ५३ करोड बढी हुने छ । कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र सिइओमा हालका युनियनका सीइओ मनोजलाल कर्ण हुनेछन् ।
नेपाल बीमा प्राधिकरणले यी तीन वटै कम्पनीहरुलाई वैशाख १३ गते एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो भने नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते तीन वटै कम्पनीहरुलाई एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट वैशाख २० गते मर्जरमा जाने अन्तिम स्वीकृत पाएका थिए ।
एकीकृत कारोबार शुरु गरिने हुँदा डाटा माइग्रेसनका लागि वैशाख २३, २४ र २५ गते तीन दिनका लागि सेवा बन्द हुने कम्पनीहरुको भनाई छ ।
प्रतिक्रिया