Logo

अर्थ

सर्जरी नै खोजेको अर्थतन्त्रलाई झारफुक गरेर हुँदैन : डा.स्वर्णिम वाग्ले



काठमाडौं । सांसद डा.स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसद वाग्लेले अर्थतन्त्र सुधारका लागि गम्भीर सर्जरी नै आवश्यक रहेका बेला सामान्य झारफुकले मात्र यो सम्भव नहुने धारणा राखे ।

त्यस्तै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताले धेरै विषय समटेको भए पनि त्यसले अपेक्षित आशा जगाउन नसकेको उनको भनाइ छ ।

‘अर्थमन्त्रीज्यू भन्नु हुन्छ आर्थिक वृद्धि गराइदिन्छु, सुशासन दिन्छु, सामाजिक न्याय दिन्छु, संघीयताको सबलीकरण गर्छु र निजी क्षेत्रको मनोबल वृद्धि गर्छु । तर, तै पनि किन खल्लो हो माहोल ?’, बैठकमा बोल्दै उनले भने, ‘हामी कुनै उत्साहिन कर्मकण्डमा सामेल भएको जस्तो अनुभव गरिरहेका छौं । यो यथास्थितीवादी निवन्धले सम्पुर्ण नीति, योजना, बजेट निर्माणमा शासकीय व्यवस्थामाथि नै अविश्वस भइरहेको छ । अब सुधारने, सप्रिने र सच्चिनेको विकल्प छैन् ।’

बजेटको सिद्धान्त र प्राथमिकतामा अर्थतन्त्रलाई तत्काल सुधार्न हतार (सेन्स अफ अर्जेन्सी) नदेखिएको पनि उनले उल्लेख गरे । “यो यथास्थितिवादी निबन्धले सम्पूर्ण नीति, योजना, बजेट निर्माण र शासकीय प्रक्रिया नै अविश्वसनीय भइरहँदा, सच्चिने, सुधार्ने, सपार्ने गुञ्जायस हामीले भेटाएका छैनौँ । त्यो सेन्स अफ अर्जेन्सी हामीले भेटाइरहेका छैनौँ”, वाग्लेले भने ।

अर्थतन्त्रले लय गुमाइरहेका बेला आर्थिक वृद्धि र उन्नतिका कुरा असुहाउँदो रहेको टिप्पणी पनि उनले गरे । “चालु आर्थिक वर्षका लागि आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकामा अहिले हामी दुई प्रतिशत हाराहारीमा रुमलिनुपरेको छ”, उनले भने, “लयमा भएको अर्थतन्त्रमा स्थिरताका कुरा गर्न सुहाउँछ । तर सङ्कटमा जाकिएको र भड्कालोमा परेको अर्थतन्त्रका बेला स्थिरता र स्थायित्वको नाराले न्याय गर्दैन ।”

नेपालको कर्जा विस्तारमा आर्थिक वृद्धिदरसँग सामञ्जस्यता देखिन नसकेको उहाँले बताए । त्यस्तै सरकारी आयको तुलनामा खर्च बढ्दै जानु पनि गम्भीर विषय रहेको उनले उल्लेख गरे ।

“बजेट घाटाको खाडल कसरी हटाउने भन्ने ठूलो चुनौती छ । कर्जा लगानी र आर्थिक वृद्धिदरबीच ठूलो भ्वाङ छ । कर्जा नियमितरुपमा २०-२२ प्रतिशतले वृद्धि भइरहेको छ । तर त्यसले अर्थतन्त्रको वृद्धिदरमा उपेक्षित योगदान दिन सकेको देखिँदैन”, उनले भने ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ४ : ३१ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।