Logo

प्रमुख समाचार

पर्यटन सम्मेलनमा भाग लिन काठमाडौं महानगरपालिकाकी उपप्रमुख डंगोल चीन प्रस्थान



काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल छाङ्सा फ्राग्रान्ट टुरिजम समिटमा भाग लिन आज (सोमबार) चीन प्रस्थान गरेकी छिन् । सम्मेलन भोलिदेखि शुक्रबारसम्म चल्नेछ । वल्र्ड टुरिजम सिटीज फेडेसेसन (डब्लुटीसीएफ) को निमन्त्रणा सम्मेलनका लागि डंगोल चीन प्रस्थान गरेको महानगरपालिकाले जनाएको छ । ४ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी सिचुवान एअरलाइन्सबाट प्रस्थान गरेकी हुन । उनीसँग कार्यपालिका सदस्य मैयालक्ष्मी महर्जन, प्रमुखको सचिवालय प्रमुख नुरनिधि न्यौपाने र अन्तरर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख सुदर्शन भट्टराई रहेका छन् । कार्यभार सम्हालेपछि उपप्रमुख डंगोलको यो पहिलो अन्तरर्राष्ट्रिय भ्रमण हो ।

सम्मेलनमा पर्यटनका आपसी हित र सीप, क्षमता विकास, सिकाइ तथा अनुभव आदान प्रदान हुने तयारी रहेको महानगरपालिकाले जनाएको छ । सहरी पर्यटन, कोभिडपछिको पर्यटन पुनःस्थापना, मेयर्स डाइलग, पर्यटन विकासका नयाँ सूचक, सांस्कृतिक पर्यटनलगायतका विषयमा प्रस्तुतिकरण, छलफल, स्थलगत अवलोकन भ्रमणसहित कार्यक्रम सम्मेलनको तालिकामा राखिएका छन् ।

बिजनेस टु बिजनेस (बीटुबी), पर्यटन व्यापार, पर्यटनमा लगानीमा विषयमा अन्तरक्रिया र छलफल हुनेछ । बुधबार उपप्रमुख डंगोलले सम्मेलनमा काठमाडौँको सहरी पर्यटनको सम्भावनाका लागि लोक तथा सांस्कृतिक जीवन, कला, साहित्य र सिर्जनाका विषयमा प्रस्तुतिकरण गर्ने तालिका रहेको छ । पर्यटन पूर्वाधार र महानगरको अनुभवका विषय प्रस्तुतिकरणमा समेटिने महानगरपालिकाले जनाएको छ ।

सम्मेलनले पर्यटन विकासका मूख्य ५ विशेषता निर्धारण गर्ने कार्यतालिका रहेको छ । विकास ढाँचामा आएको परिवर्तन र पर्यटन, पर्यटकीय दृष्टिले महत्वपूर्ण देश तथा सहरका विशिष्ट विशेषता थाहा पाउन सम्मेलन महत्वपूर्ण हुने बुझिएको छ ।

सम्मेलनको नारा ‘विश्व पर्यटन पुनरुत्थानका लागि सहरको शक्ति’ राखिएको छ । उपप्रमुख शनिवार स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति : बैशाख २५, २०८० सोमबार  ७ : १२ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।