काठमाडौं । उद्योगपति एवं नेपाली कांग्रेसका सांसद बिनोद चौधरीले नेपालमा माइनिङ गरेर हुने क्रिप्टो कारोबारलाई प्रतिवन्ध लगाउन जरुरी नभएको बताएका छन् । प्रतिनिधी सभामा चलिरहेको बजेटमाथिको प्राथमिकता र सिद्धान्तमाथिको छलफलका क्रममा आफ्नो चौधरीले नेपाललाई २१औं शताब्दीको क्रिप्टो हब बनाउन सकिने धारणा राख्दै यसै मार्फत विदेशी ठूला लगानीकर्तालाई भित्र्याउन सकिने तर्क राखेका हुन् ।
उनले धारणा राख्ने क्रममा नेपालको कर प्रणालीलाई आधुनिक र प्रविधिमैत्री बनाई स्वविवेकी होइन स्पष्ट घोषित आधारभूत सिद्धान्तहरु मार्फत सक्षम बनाउन सकिएमात्र चुहावट रोक्न सकिने बताए । अर्थतन्त्रको कमीकमजोरीबारे औल्याउँदै उनले भने–‘ अर्वौ लगानी गरेर बनाइएका दुई विमानस्थलहरु अहिले मृतप्रायः अवस्थामा छन् ।यी एअरपोर्टलाई व्यवस्थित बनाउन अन्तर्राष्ट्रिय स्तरमा मुलुकका हवाई सञ्जालसँग जोड्न ख्याती प्राप्त संस्थालाई आमन्त्रण गर्न सक्छौं । भारतको गोरखपुर एभिएसन हबका रुपमा विकसित भएको छ भने नेपालललाई पनि भारत र चिनको पर्यटक भित्र्याएर पर्यटकीय हब बनाउन सकिन्छ ।
‘भैरहवामा एउटा विशेष आर्थिक क्षेत्र सेज बनाउन हामीलाई २ दशक लाग्यो हाम्रा आधोगिक क्षेत्र र सेजमा लगानी अग्रसर हुननसक्नुको पछाडि के कारण हो भनेर बजेटले खोज्न सक्नुपर्ने छ। नेपाललाई लगानीकर्ताको आकर्षक गन्तब्य बनाउन किन सकेनौं समीक्षा गर्न आवश्यक भइसकेको छ । खुला अर्थव्यवस्थामा स–ससाना छरिएका पूँजी संकलन गर्ने क्षेत्र पूँजिबजार हो । यो बजारलाई राम्रोसँग उपयोग गर्न सकियो भने नेपालले बनाउने ठूलठूला परियोजनामा नेपालभित्रैबाट लगानी पर्याप्त जुट्ने अवस्था हुन्छ । तर अहिले पूँजिबजारको अवस्था दयनीय छ ।’उनको भनाई छ ।
‘हाम्रो बजेटको संरचनागत परिवर्तनका लागि हामीले कठोर निर्णय नलिएसम्म आर्थिक विकासको गतीलाई तीब्र बनाउन कठिन हुन्छ । चालु आर्थिक वर्षको बजेटमा जम्मा पूँजिगत खर्चको लागि २१ प्रतिशत मात्र रकम बिनियोजन गरियो त्यसमा पनि ३५प्रतिशत मात्र खर्च भएको छ, बजेट विनियोजनको यो अत्यन्त दुःखद् परिस्थती परिवर्तन गर्नु आजको आवश्यकता हो । अब आउने बजेटले पूँजिगत खर्च र चालु खर्चमा ६० र ४० प्रतिशतको अनुपात कायम गर्न ठोस् प्रयास गरोस् ।’ चौधरीले आफ्नो भनाई राखे ।
भिडियाे हेर्नुहाेस्:–
प्रतिक्रिया