काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिलिजुली सत्ताभोग र दोहन गर्ने उद्देश्यले हुने गठबन्धनका कारण राजनीति थप विकृत बनिरहेको उल्लेख गरेका छन् । बिहीबारदेखि सुरू भएको पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकमा पेश राजनीतिक प्रतिवेदनमा उनले यो कुरा उल्लेख गरेका छन् ।
प्रतिवेदनमार्फत् अध्यक्ष ओलीले सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको आरोप पनि लगाएका छन् । ‘सत्ता पक्षले गठबन्धन गरेर विपक्षमाथि आक्रमण गर्ने चरम अलोकतान्त्रिक चरित्र देखाइरहेको छ । राष्ट्रिय महत्वका विषयमा नीतिगत सहमति खोज्ने होइन, मिलिजुली सत्ताभोग र दोहन गर्ने उद्देश्यले हुने यस्ता गठबन्धनले राजनीतिलाई थप विकृत बनाइरहेको छ,’ उनको प्रतिवेदनमा भनिएको छ ।
अध्यक्ष ओलीले ०७८ सालमा सर्वोच्च अदालतको फैसलाबाट गलत बाटोमा अघि बढेको देशलाई आमनिर्वाचनपछि फेरि नयाँ कोर्समा लैजाने प्रयास भए पनि त्यो प्रयास असफल भएको बताएका छन् । ‘पार्टीले ०७९ पुस १० गते नयाँ राजनीतिक सहकार्यको आधार निर्माण गर्यो । एमाले, माओवादी केन्द्रसहित सात दलको समर्थनमा सरकार बन्यो । सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरेसँगै समाजमा उत्साह देखा पर्यो । पुँजी बजारमा सकारात्मक प्रभाव देखियो । यो ०७८ असारको सर्वोच्च अदालतको परमादेशसँगै निर्माण भएको गलत कोर्सलाई सच्याउने पहल थियो,’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘तर आफैँ चरम अवसरवादबाट ग्रस्त र विभिन्न शक्ति केन्द्रहरूको प्रभावमा परेको माओवादी केन्द्रलाई दक्षिणपन्थी अवसरवादी ओरालो यात्राबाट रोक्न सकिएन । राष्ट्रपति निर्वाचनसम्म आइपुग्दा ऊ नेपाली कांग्रेससँग समर्पण हुन पुग्यो ।’
ओलीले माओवादी केन्द्रको चरित्रबाट एमाले अपरिचित नरहेको दाबी गर्दै यसपटकबाट माओवादीको व्यवहारले राजनीति थप विकृत, बदनाम र विवादित बन्न पुगेको बताएका छन् । उनले मुलुकमा अहिले देखिएको आर्थिंक संकटको पछाडि कांग्रेस र माओवादी केन्द्रबीच सघन बनेको राजनीतिक आवरणको वित्तीय गठबन्धन जिम्मेवार रहेको आरोप लगाएका छन् । ‘गठबन्धनले बजेट बनाउँदा व्यवसायी घरानाको प्रतिनिधि राखेर करका दर हेरफेर गरेको छ । एक खालको प्रविधिमाथि आधारित उद्योगहरूलाई किनारा लगाएर अर्काथरी उद्योगलाई मात्रै प्रश्रय दिएको छ,’ ओलीले प्रतिवेदनमा भनेका छन्, ‘कमिसन र आर्थिक लाभका लागि अर्थतन्त्रमा दुरगामी नकारात्मक प्रभाव पार्ने निर्णय गरेको छ ।’
पहिलो दिनको बैठकमा अध्यक्ष अोलीको राजनीतिक प्रतिवेदनसहित अन्य विभिन्न प्रतिवेदन पनि पेश भएका छन् । यी सबै प्रतिवेदनउपर शुक्रबार बिहान ८ देखि १२ बजेसम्म आठ समूहमा छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
प्रतिक्रिया