Logo

प्रमुख समाचार

१० दिनभित्र सबै अभियुक्तविरुद्ध अदालतमा मुद्दा दर्ता हुँदै



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी अनुसन्धान गरिरहेको प्रहरीले अबको १० दिनभित्र अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । यस मुद्दामा अहिलेसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले १० दिनभित्रमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

पक्राउ पुर्जी जारी भएकामध्ये तीन जना पक्राउ परेका छैनन् । एमाले सचिवसमेत रहेका पूर्व उप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझी फरार छन् भने आइतबार मात्रै पूर्व सभासद आङदावा शेर्पा र पूर्व गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

यसअघि पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे र पूर्व उपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परिसकेका छन् । यसैगरी मुख्य गिरोहका भनिएका केशव दुलाल, सानु भण्डारीसहित रामशरण केसी, गोविन्द चौधरी, टंक गुरुङ सन्देश शर्मा पोखरेल र सागर थुलुङ पनि पक्राउ परेका छन् ।

उनीहरुविरुद्ध अहिलेसम्म प्राप्त प्रमाणका आधारमा मुलुकी अपराध संहिता, २०७४ बमोजिमको ठगी सम्बन्धी कसुर र संठित अपराध निवारण ऐन, २०७० को संगठित अपराधसम्बन्धी कसुरहरूमा अभियोग लगाउने तयारी छ ।

२० दिनपछि स्वतः पदबाट निलम्बनमा पर्छन् रायमाझी !

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्जी जारी भएर फरार रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट वैशाख १२ गते पक्राउ पुर्जी जारी भएको थियो ।

रायमाझी अबको २० दिनभित्रमा पनि पक्राउ नपरे उनी सांसद पदबाट स्वतः निलम्बनमा पर्नेछन् ।
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता, २०७४ को ठगीसम्बन्धी कसुर र संगठित अपराध निवारण ऐन, २०७० बमजिमको कसुरमा मुद्दा चलाइनेछ ।

संगठित अपराध निवारण ऐन, २०७० को दफा ५२ अनुसार संगठित अपराध गर्ने संवैधानिक निकायका पदाधिकारी पक्राउ पुर्जी जारी भएको ३० दिनभित्र पक्राउ नपरेमा वा अदालतमा उपस्थित नभएमा ३१ दिनमा त्यस्ता पदाधिकारीको पदबाट स्वतः निलम्बन हुने व्यवस्था रहेको छ । सोहीअनुसार अबको २० दिनसम्मा पनि पक्राउ नपरे सांसद पदबाट स्वतः निलम्बनमा पर्ने छन् ।

 

  • याे पनि…

बालकृष्ण खाणलाई थप ४ दिन थुनामा राख्न अनुमति

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १९:५७   :  बजे

288
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।