काठमाडौं । सरकारले कृषि बिमाशुल्कमा तोकेको अनुदान रकम भुक्तानी नगरेपछि निर्जीवन बिमा कम्पनीहरुले कृषि बिमालेख बन्द गर्ने भएका छन् । आगामी जेठ ७ गतेदेखि कृषिसम्बन्धी बिमा पोलिसी र दाबी भुक्तानी बन्द गर्ने निर्णय कम्पनीहरुले गरेका हुन् ।
सरकारले कृषि बिमाशुल्कमा तोकेको अनुदान रकम मध्ये हालसम्म ३ अर्ब रुपैयाँ कम्पनीहरुलाई दिन बाँकी छ । पाउनुपर्ने रकम पटक पटक माग गर्दा पनि रकम नपाएपछि नेपाल बिमक संघले नेपाल सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता अनुदान पूर्णरुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बिमालेख जारी गर्ने र सो सँग सम्बन्धीत क्षतिको दाबी भुक्तानी समेत नदिने निर्णय गरेको हो ।
नेपाल सरकारले २०६९ देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बिमाशुल्कमा अनुदान दिन थालेको थियो । सरकारले २०७७ देखि नै कम्पनीहरुलाई रकम दिन बाँकी रहेको संघको भनाइ छ । संघका अनुसार सरकारले माछा बिमाको अनुदान रकम २०७७ देखि नै दिन बाँकी रहेको छ । बाली बिमाको अनुदान रकम २०७८ असोजदेखि चैत मसान्तसम्म आंशिक भई हाल सम्मको बाँकी रहेको संघले जनाएको छ । यस्तै, पशु पंक्षी बिमाको अनुदान रकम २०७८ असोज देखिको बाँकी रहेको छ ।
सरकारले अनुदान रकम उपलब्ध गराउन संघले नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक पटक मौखिक तथा लिखित अनुरोध गरेको थियो । तर, हालसम्म पनि रकम प्राप्त नभएका कारणले बिमा कम्पनीहरु जोखिममा परेको संघले जनाएको छ ।
प्रतिक्रिया