काठमाडौं । भारतबाट भारतबाट इन्धनको मूल्य घटेर आएसँगै सरकारले नेपालमा पनि मूल्य घटाउनेबारे छलफल गर्ने भएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पेट्रोल र डिजेलको मूल्य घटेर आएसँगै नेपालमा सोही अनुसार मूल्य समायोजन हुन्छ की हुँदैन भन्ने चासो सुरु भएको हो ।
भारतीय आयल कर्पोरेसनले मंगलबार नेपाल आयल निगमलाई अघिल्लो पटकको मूल्यभन्दा पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले मूल्य घटाएर पठाएपछि नेपालमा मूल्य समायोजन गर्नेबारे छलफल शुरु भएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।
सञ्चालक समितिमा मूल्य समायोजनको प्रस्ताव पठाइसकेको र सञ्चालक समितिबाट निर्णय आउन बाँकी रहेको उनको भनाई छ । यद्यपि के कती मूल्य समायोजन हुन्छ सोबारे अहिले नै जानकारी दिन नमिल्ने उनको भनाई छ । आईओसीले निगमलाई १५/१५ दिनमा नयाँ मूल्यसूची पठाउँछ । आईओसीले आफ्नो लागत तथा कच्चा तेलको मूल्यका आधारमा नयाँ मूल्यसूची पठाउने गरेकोमा यसपटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि आइओसीले पनि मूल्य घटाएर पठाएको हो ।
भारतबाट प्राप्त मूख्यसूची अनुसार निगमले नेपालमा पनि मूल्य समायोजन गर्नुपर्नेमा सञ्चिति नोक्सान देखाउँदै निगमले मूल्य समायोजन गरेको छैन । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया