Logo

प्रमुख समाचार

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, कसलाई कुन मन्त्रालयकाे जिम्मेवारी ?



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट राजु खनाल स्वास्थ्य, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकास र जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन् ।

मन्त्रीमा नियुक्त भएका तीनै जनाले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सोमबार नै पद तथा गोपनियताको शपथ लिएका छन् । कांग्रेसका खनाल दाङ २ (१), जनमतका गुप्ता रुपन्देही ५ (२) जसपाका अहिर बाँके २ (१) बाट निर्वाचित भएका हुन् ।

तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रीपरिषद गठन भएको छ । लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । ८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१) बाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

गठबन्धनमा ८ दल भएकाले मन्त्रालय भागबन्डा र आफ्नै पार्टी कांग्रेसभित्रको विवादले मन्त्रीपरिषद्‍ विस्तार रोकिएको थियो । विभागीयमन्त्री अभावमा बजेट निर्माणमा समस्या परेको दबाब बढेपछि मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन् ।

यसअघि वैशाख १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका थिए ।

माओवादीका मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो भने सोमबारदेखि नागरिक उन्मुक्तिका चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र लोसपाका पाण्डेयलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मिति : जेष्ठ ८, २०८० सोमबार  ५ : ५४ बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।