काठमाडौं । बागमती प्रदेशका कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले नीति निर्माणमा हाबी हुने बिचौलियाहरुलाई खबरदारी गर्नुपर्ने बताएका छन् । मंगलबारकाे प्रदेशसभा बैठकमा बोल्दै उनले नीति निर्माणमा समेत बिचौलियाहरु हाबी भएको भन्दै खबरदारी गर्न सबै लाग्नुपर्ने बताए ।
‘भ्रष्टाचारका कुरा सबैतिर सुनिन्छ । तीन तह नै भ्रष्टाचारमा लिप्त भएको ठाउँठाउँमा सुनिन्छ । बागमती प्रदेशको मात्र होइन सबैतिर बिचौलियाहरुको ठूलो हाबी भएको र बिचौलियाहरुको कारणले गर्दा सरकारका नीति तथा कार्यक्रहरु प्रभावकारी हुन नसकेको कुरा पनि सुनिन्छ । म सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । यसमा ठोस नीति निर्माण तयार पार्नुपर्दछ’, काफ्लेले भने, ‘त्यस्ता बिचौलियाहरुलाई जसले नीति निर्माणका कामहरुमा अवरोध सिर्जना गर्छ चाहे जुनै तत्वहरु किन नहोस् तीनीहरुलाई खबरदारी गर्नुपर्दछ ।’
त्यस्तै सरकारले नराम्रो काम गर्दा सांसदहरुले खबरदारी गर्न समेत आह्वान गरे । आफ्नै दलको नेतृत्व भए पनि सरकारले गरेका नराम्रा काममा ताली पिट्ने भन्दा खबरदारी गरेर संघीयतालाई थप विश्वसनीय बनाउने जोड दिए । ‘हाम्रा सांसदहरुले सरकारले गरेका नराम्रा कुराहरुलाई खबरदारी गर्नुपर्दछ’, काफ्लेले भने ।
देश संघीयतामा गए पनि प्रदेशहरु अझै केन्द्रकै भर पर्नुपर्ने अवस्था आएको बताउँदै काफ्लेले त्यसको अन्त्य गर्दै प्रदेशले आफ्नो क्षमता प्रस्तुत गर्नुपर्ने दिन आएको बताए । ‘अहिले पनि बजेट निर्माणका कुराहरुमा पनि केन्द्रमै आश्रित हुनुपर्ने अवस्था छ त्यसलाई अन्त्य गर्नुपर्छ’, उनले भने ।




















प्रतिक्रिया