काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले जलनका बिरामी तथा घाइतेहरुलाई सरकारले आर्थिक सहयोग गर्नुपर्ने बताएका छन् । विभिन्न कारणले हुने आगलागीका घटनामा परी अधिकांश न्यून आय भएका व्यक्तिहरु बिरामी तथा घाइतेहरु हुने गरेको पाइएको भन्दै उनीहरुलाई पनि सरकारले क्यान्सर, मुटु तथा मिर्गौलाका बिरामीलाई जस्तै आर्थिक सहयोग दिनुपर्ने बताए ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद भण्डारीले भने, ‘जलनका बिरामीलाई पनि क्यान्सर, मुटु र कित्नीकै जसरी सरकारले सहयोग गर्नुपर्छ । यो केसमा बढी आर्थिक अभावमा परेका गरिब व्यक्ति पर्दारहेछन् ।’
सांसद भण्डारीले ग्यास कसरी बाल्ने ? बिजुली कसरी बल्ने ? रोड क्रस गर्दा कसरी गर्नेलगायतका विषय अब पाठ्यक्रममै समेट्नुपर्ने पनि बताए । ‘विज्ञानको विकाससँगै गाउँगाउँ ग्यास, बिजुली र गाडीहरु पुगेका छन् । बच्चाहरु स्कुल जाँदा बाटोक सरी काट्ने, ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्नेजस्ता कुरा अन्य देशमा सानैमा स्कुलमा सिकाइन्छ’, उनले भने, ‘तर हामीले यो विषय ख्याल गरिएन । अब यसलाई पाठ्यक्रममा राख्नुपर्छ ।’
गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ भएको आगालागीमा परी गम्भीर घाइते उनी साढे दुई महिना भारतमा उपचार गराएर स्वदेश फर्किएका हुन् ।




















प्रतिक्रिया