काठमाडौं । अर्थमन्त्रालय यतिखेर बजेट लेखनको चटारोमा छ । अर्थतन्त्र जोखिमको डिलमा उभिएका बेला सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागेको बजेट कस्तो होला भन्नेतर्फ सबैको चासो बढेको छ । अहिले नेपाली अर्थतन्त्रमा विशेष समस्या छ ।सबैले महसुश गर्नेगरी विषम परिस्थितिबाट अर्थतन्त्र गुज्रिरहेको छ । यस्तो अवस्थामा आउन लागेको बजेट अन्य समयमा ल्याइने बजेटभन्दा फरक हुनुपर्नेमा सबैको जोड छ ।
फरक आउँछ त बजेट ?
आगामी आर्थिक वर्षको लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्बको आकारभित्र रहेर बजेट निर्माण गर्न सुझाव दिएपनि जनप्रतिनिधीका आकांक्षा र माग भने निकै बढी देखिएको छ ।अर्थमन्त्री प्रकाशशरण महतलाई चालु खर्च कटौतीमा निर्मम बन्न कतिपय सत्तारुढ दलकै सांसदहरुले सुझाव दिइरहेपनि महत यो बजेटमा खर्च कटौतीमा निर्मम हुनसक्ने सम्भावना न्यून देखिएको मन्त्रालय स्रोत बताउँछ ।
अर्थमन्त्रालयका सचिवालयमा कार्यरत एक कर्मचारीले बताएअनुसार माग धेरै रहेको हुँदा मन्त्रीले मात्र खर्च जती कटौति गर्छु भनेपनि धेरै काटिने सम्भावना नरहेको बताउँछन् । त्यसोत अर्थमन्त्री डा. प्रकाशशरण महतले कसैको दबाव र प्रभावमा नपरी बजेट निर्माण गर्ने दाबी गर्दै आएका छन् । दबाव र प्रभावमा राजश्वका दरहरु परिवर्तन नगरिने बताएका छन् । यद्यपि अर्थमन्त्रीले अर्थ मन्त्रालयले सुधार्न नसकेको काम नेपाल राष्ट्र बैंकले गर्नुपर्छ भनेर दिएको अभिव्यक्ति सुन्दा भने आगामी बजेट अहिलेको समस्या समाधानका लागि प्रभावकारी कार्यक्रमका साथ नआउने संकेत मिलेको छ ।
यतिखेर खस्कँदै गएको राजस्वलाई पुरानै लयमा ल्याउन राजस्व प्रशासनलाई थप चुस्त बनाउनुपर्ने, पुरानो राजस्व बक्यौता असुली गर्नुपर्ने र चुहावट नियन्त्रणमा निर्मम भएर प्रस्तुत गर्नुपर्ने छ । राजश्वमा योगदान पुग्नेगरी मात्र करका दर हेरफेर गर्न उपयुक्त हुनेछ अन्यथा नचलाउँदा नै ठिक हुने देखिन्छ ।त्यसो त हरेक वर्ष बजेट बनाउँदा नकारात्मक असर पुग्ने जस्तै रक्सी, बियर,चुरोटजन्य बस्तुमा कर बढाइने गरिएको छ । गत वर्ष पनि यस्ता बस्तुमा कर बढ्दा पनि अपेक्षित राजश्व बढ्न सकेन । उल्टै चोरी पैठारी बढेपछि यस वर्ष यस्ता बस्तुमा कर नबढाउने निर्णय आउनसक्ने मन्त्रालय स्रोतको भनाई छ । यद्यपि, करका दरमा भने अंकको विकल्प राखिएर छलफल हुने भएकाले यो वा त्यो कुन दर हुन्छ भन्ने छलफलमा सहभागीलाई नै थाहा हुँदैन ।करका दरका विषयमा भने बजेट सार्वजनिक हुने दिन बिहान तीन-चार बजेसम्म मात्र टुंगो लाग्ने गरेको अर्थमन्त्रालयमा कार्यरत कर्मचारी बताउँछन् ।
बिहान ८ बजेदेखि राति १० बजेसम्म बजेट लेखन
संघीय संसदले जेठ १५ गते ल्याउन लागेको बजेट लेखनको कोर टिममा सहसचिवहरु उत्तर बहादुर खत्री, धनीराम शर्मा, आनन्द काफ्ले, बाबुराम सुवेदी र जनकराज शर्मा सदस्य रहेका छन् । त्यस्तै, मन्त्री महतले आफ्नो सल्लाहकारमा पनि ३ जना विज्ञ नियुक्त गरेका छन् । बैशाख ७ गते मन्त्री डा. महतले राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेललाई प्रमुख आर्थिक सल्लाहकार नियुक्त गरेका थिए भने सल्लाहकारमा योजना आयोगकै पूर्व सदस्य डा. पोषराज पाण्डे नियुक्त भएका थिए । त्यस्तै, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई काजमा अर्थमन्त्रालय बोलाईएको छ ।बजेट लेखनमा खटिएका टोलीहरु यतिखेर बिहान ८ बजेदेखि राति १० बजेसम्म खटिने गरेका छन् ।
सूचना चुहियो
अर्थमन्त्रालयमा गोप्य रुपमा भैरहेको बजेट लेखन टोली मध्येकै सदस्यबाट करका दरबारे भैरहेको सूचना चुहिएको बाहिरिएको छ । आगामी बजेटमा गाडीको एसेम्बल सरसामानमा कर बढाउने सूचना बाहिरिएपछि अटोमोबाइल व्यवसायीको संगठन नाडाले मंगलवार एक विज्ञप्तीनै जारी गरी आपत्ती जनाएको छ ।अर्थमन्त्री, दुई सचिव, बजेट लेखन टिम, आन्तरिक राजश्व विभाग, भन्सार विभाग र अर्थमन्त्रीका सल्लाहकारहरुको टिममा भैरहेको छलफलको बिषय कसरी बाहिरियो अहिले चर्चा भैरहेको छ ।
अर्थमन्त्रालय प्रवेशमा कडाई
बजेट लेखनको अन्तिम साता करका विषयमा छलफल हुने भएकाले अर्थमन्त्रालय प्रवेशमा कडाई गरिएको छ । बजेटमा गोपनियताका कुरा हुने र अहिले राजस्वका विषयमा छलफल चलिरहेको हुँदा यसको संवेदनशीलतालाई मध्यनजर गर्दै बजेट भाषणको दिनसम्मलाई मन्त्रालय प्रवेशमा कडाई गरिएको अर्थमन्त्रीको सचिवालयका एक कर्मचारीले बताए । उनले भने–‘यस्तो हरेक वर्ष बजेट बनाउने समयमा गरिन्छ । सोमबारबाटै कर्मचारीलाई पनि कार्डबाट रीड गरेरमात्र मन्त्रालय प्रवेश दिइएको छ ।बिना उद्देश्य बाहिरी मान्छेलाई मन्त्रालय छिर्न बन्देज लगाइएको छ ।’उनले भने ।




















प्रतिक्रिया