Logo

अर्थ

आवागमन रोकिने गरी चलाइएका ३५ मोटरसाइकल वर्कसपलाई जरिवाना, उठ्याे १ लाख ८५ रुपैयाँ राजस्व

एकैदिन उठ्यो १ लाख ८५ हजार राजश्व



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।

बुधबारबाट खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो ।

बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ महानगरले जरिवाना तिरायो । यस्तै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पक्राउ गरी ५ हजार रुपैयाँ महानगरले जरिवाना तिराएको छ ।
यसरी सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ संकलन भएको छ ।

महानगर प्रहरी बलले सार्वजनिक आवागमन, सहरी सुन्दरता र व्यवस्थापनमा बाधा गर्नेहरुलाई नियन्त्रणमा लिएर जरिवाना तिराउने गरेको छ । यसका लागि प्रहरीले अनधिकृत क्रियाकलापमा सम्लग्नलाई नियन्त्रणमा लिएर प्रहरी बलमा पठाउने गरेका छन् ।

प्रकाशित मिति : जेष्ठ ११, २०८० बिहीबार  १२ : १६ बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।