काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध कैसँग सम्झौता नगर्नेगरी दृढताका साथ एक्सनमा उत्रिएको बताएका छन् । उनले केही समयभित्र भ्रष्टाचारविरुद्ध ‘ठूलाठूला एक्सन’ हुन लागेको दाबी समेत गरेका छन् ।
शनिबार प्रेस सेन्टर नेपालको १९औँ साधारणसभा एवं २१औं कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीय प्रचण्डले जनयुद्धमा जसरी नै आफूहरु अहिले भ्रष्टाचारविरुद्ध पनि लागिपरेको बताएका छन् । जनताले यो भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनमा आफूहरूलाई साथ दिने पनि प्रचण्डले विश्वास व्यक्त गरे ।
‘१० वर्षे जनयुद्धमा को कति बेला मारिने हो अत्तोपत्तो नहुनेगरी जसरी हाम फालेका थियौँ, त्यसैगरी अहिले पनि हामी भ्रष्टाचार र बेथितिविरुद्ध हामफालिसकेका छौँ’, उनले भने, ‘हामीलाई विरोधीले कतिबेला एम्बुसमा पार्ने हो थाहा छैन । जसरी विचार र वर्गका निम्ति समर्पित भएर जनयुद्धमा लागेका थियौँ, त्यसैगरी अहिले पनि हामी त्यही संकल्पका साथ लागेको छौँ ।’
प्रधानमन्त्री प्रचण्डले केही समयमै भ्रष्टाचारविरुद्ध ठूला कारबाही हुने पनि बताए । ‘केही समयभित्रै ठूला–ठूला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठूलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं’, उनले भने ।




















प्रतिक्रिया