काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको जलहरी प्रकरणमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जोड्न नमिल्ने बताएका छन् । शनिबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जलहरी प्रकरणमा अख्तियारले छानबिन गरिरहेको पनि बताएका छन् ।
छानबिनमा सरकारले सहयोग गर्ने पनि प्रधानमन्त्री स्पष्ट पारे । उनले भने, ‘यो विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर विचार व्यक्ति हुनु उचित होइन। यस्ता विषय संसद्को रेकर्डबाट हटाउने प्रचलन छ।’
संसद्को जेठ १० गते बसेको प्रतिनिधिसभाको बैठकमा माओवादीकै सांसद लेखनाथ दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तलको लगाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
दाहालको अभिव्यक्ति फिर्ता नभएसम्म संसद् चल्न नदिने भन्दै शुक्रबार एमालेले संसद् अवरोध गरेपछि आज ४ बजेका लागि बैठक बोलाइएको थियो ।
शनिबार बिहान शीर्ष तीन दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष ओलीबीचको छलफलले सदन सुचारु गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले संसदलाई यसबारे जानकारी गराएका हुन् ।




















प्रतिक्रिया