Logo

अर्थ

सार्वजनिक संस्थान : २५ संस्थानको खुद नाफा ३३ दशमलव ६५ प्रतिशतले बढ्यो



काठमाडौँ । सरकारको स्वामित्व रहेको सार्वजनिक संस्थानहरुको व्यवस्थापकीय पक्ष कमजोर हुँदा अझैपनि धेरै संस्थानहरु नाफामा जान सकेका छैनन् । आर्थिक वर्ष ०७९/८० को आर्थिक सर्वेक्षणले सरकारको लगानी रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २५ वटा नाफामा, १७ वटा घाटामा र दुईवटाको कारोबार शून्य देखिएको छ ।प्रकाशित सर्वेक्षणका अनुसार हाल जनकपुर चुरोट कारखाना लिमिटेड बन्द छ भने विद्युत् उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रीड कम्पनीको व्यवसाय शुरुवाती अवस्थामै रहेको छ ।

समीक्षा प्रतिवेदनअनुसार नोक्सानीमा सञ्चालन भइरहेका संस्थानमध्ये नेपाल ओरिण्ड म्याग्नासाइट प्रालि र बुटवल धागो कारखाना लिमिटेडको व्यावसायिक कारोबार भएको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले पनि व्यवस्थित रूपले गति लिन सकेको छैन । व्यावसायिक कारोबार नभए पनि यी तीन कम्पनीको प्रशासनिक खर्च हुने भएकाले नोक्सानी व्यहोरिरहेका छन् । नाफामा जाने कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, राष्ट्रिय वाणिज्य बैंक,नागरिक लगानी कोष,निक्षेप तथा कर्जा सुरक्षण कोष लगायत रहेका छन् ।गत आर्थिक वर्षसम्ममा नाफामा सञ्चालित २५ वटा संस्थानको खुद नाफा ३३ दशमलव ६५ प्रतिशतले बढेको छ भने नोक्सानीमा सञ्चालित १७ संस्थानको खुद नोक्सानी छ सय १० दशमलव ९६ प्रतिशतले बढेको छ ।

सार्वजनिक संस्थानको प्रशासनिक खर्चमा दुई दशमलव चार प्रतिशतले कमी आएको देखिएको छ ।अघिल्लो आर्थिक वर्ष २०७७र७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आय रू ४ खर्ब २२ अर्ब ४४ करोड १७ लाख रहेकोमा गत आर्थिक वर्ष २०७८र७९ मा ३६ दशमलव २२ प्रतिशतले वृद्धि भई रू ५ खर्ब ७५ अर्ब ४३ करोड ५५ लाख पुगेको छ ।सार्वजनिक संस्थानहरुको सञ्चित नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा शून्य दशमलव ७४ प्रतिशतले कमी आई रू १ खर्ब १२ अर्ब ७२ करोड ७१ लाख पुगेको छ ।सञ्चित नोक्सानी गत आर्थिक वर्षको तुलनामा एक सय ७६ दशमलव ८ प्रतिशतले बढेर रू ६० अर्ब ३१ करोड ९२ लाख कायम भएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १८:४३   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।