Logo

अर्थ

बजेटको विगत : ब्रिफकेश च्यात्नेदेखि सीसीटीभी फुटेज गायब पार्नेसम्म



काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज संघीय संसद भवनको दुवै सदनमा एकैसाथ प्रस्तुत गरिँर्दैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज प्रस्तुत गर्ने बजेट नेपालको ७६औं बजेट हो ।नेपालमा बिसं २००८ सालदेखि बजेट सार्वजनिक गर्ने प्रचलन शुरु भएको हो । तत्काली अर्थमन्त्री सुवर्ण शमसेर राणाले नेपालको पहिलो बजेट ल्याएका थिए जुन पहिलो जनमूखी बजेट थियो । त्यसअघिका बजेट पारिवारिक हुन्थे ।

२००८ सालमा तत्कालीन अर्थमन्त्री सूवर्ण शमशेरले संसदसमक्ष पाँच करोड २५ लाख २९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।  पहिलो बजेट रेडियो नेपालमार्फत प्रस्तुत गरिएको थियो ।बजेटको जम्मा पूँजीमा राजस्वतर्फ तीन करोड छ लाख १९ हजार रुपैयाँ राखिएको थियो । औपचारिक रुपमा नेपालको पहिलो बजेट नेपाली कांग्रेसका नेता मातृकाप्रसाद कोइरालाको सरकारले ल्याएको थियो । जुन बजेट जनता लक्षित कार्यक्रमहरू ल्याउने पहिलो बजेट बन्यो त्यसअघिका बजेटमा राखिएका योजनाहरूमाथि प्रश्न उठ्दैनथिए र जवाफ पनि दिनुपर्दैनथ्यो ।

२००७ साल पछिका बजेटले केहि सुधारवादी काम गर्दै विकासका सन्दर्भमा प्रभावकारी देखिए तापनि राजनीति अस्थिरताका कारण योजना प्रभावकारी रुपमा लागू हुन सकेनन् । २०४६ सालको बहुदलीय प्रजातन्त्रको स्थापना भएपछि बनेको सरकारले ल्याएको बजेट भने केही हदसम्म जनमुखी र विकासको आधारमा बनेको देखिन्छ ।

२०४६ को राजनीतिक परिवर्तनपछि अर्थमन्त्री महेश आचार्यले ३६ अर्ब ६४ करोड रुपैयाँको बजेट ल्याएका थिए । जसमा १६ अर्ब ८९ करोड विकासका लागि छुट्याइएको थियो । नेपालको बजेट इतिहासलाई हेर्दा बजेटले आर्थिक वर्ष २०६१/२०६२ सालमा पहिलोपटक एक खर्ब रुपैयाँ नाघेको थियो ।त्यतिबेला डा. रामशरण महत अर्थमन्त्री थिए । अर्थिक वर्ष २०७०/२०७१ मा बजेट रकम आठ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ पुगेको थियो । आर्थिक वर्ष २०७१/२०७२ मा झरेर छ खर्ब १७ अर्बको बजेट सार्वजनिक भएको थियो । ती दुवै बजेट अर्थमन्त्री डा. रामशरण महतले ल्याएका थिए ।

बजेटको इतिहाँसमा अनेकन् विवादास्पद र अविस्मरणीय घटनाहरु घटेका छन् । बजेटका ब्रिफकेश फुटाइनेदेखि सीसीटिभी फुटेज मेटिनेसम्मका घटनाहरु घट्न पुगे । आर्थिक वर्ष २०६७/६८ का लागि तत्कालिन अर्थमन्त्री शुरेन्द्र पाण्डे बजेट प्रस्तुत गर्न जानेक्रममा उनकोे हातबाटै बजेट पुस्तिका च्यातियो । बजेट प्रकृयाबारे विमती जनाउँदै अर्थमन्त्री पाण्डेमाथि माओवादीका सांसदहरु झम्टिन पुगे र हातपातको प्रयास गरेका थिए । बजेट ब्रिफकेस खोसाखोस भएर बजेट च्यातिएपछि त्यो दिनका लागि संसद्को बैठक रोकियो। भोलिपल्ट अर्थात् मंसिर ४ गते अध्यादेशमार्फत् बजेट ल्याइएको थियो ।

त्यस्तै बजेटको इतिहाँसमै अत्यन्त धुमिल छबी गत सालको बजेटले बनायो ।गत आर्थिक वर्ष २०७९/०८० को बजेट ल्याउने धमाधम तयारी भैरहेको थियो । कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा माओवादीबाट अर्थमन्त्री बनेका जनार्दन शर्माले बजेटलाई विशेष चासोका साथ हेरिरहेका थिए । अर्थमन्त्रालय परिसरमा अन्य व्यक्तिलाई प्रवेश निषेध गरिएको थियो । यसैबिच बजेट ल्याउने दिनको अघिल्लो दिन जेठ १४ गते मध्येरातमा मन्त्री शर्माको पूर्ण समर्थनमा पूर्व नाशुले करका दर हेरफेर गरे ।

सिमित व्यापारिक घरानालाई हित हुनेगरी स्वार्थप्रेरित भएर पूर्व नासुलाई बजेट हेरफेर गर्न दिएको भन्दै कर्मचारी वृत्तमा विरोध भयो । घटना बाहिरिएपछि सामसुम पार्न मन्त्रालयमा भएको सीसीटीभी फुटेज नै गायब पारिएको थियो । बजेट इतिहाँसमा अर्थमन्त्री जनार्दन शर्मा अर्थमन्त्री हुँदा घटाएको उक्त घटनालाई सीसीटीभी प्रकरणको नामले चिनिन्छ । जसको आज पर्यन्त पनि निकै निन्दा गरिएको छ र गरिनेछ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:२९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।