Logo

प्रमुख समाचार

संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्दै, कार्कीमाथिकाे सुनुवाइ प्रक्रिया अघि बढ्ने



काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक भोलि मंगलबारका लागि बोलाइएको छ । आइतबार गठन भएको यो समितिको बैठक बिहान ८ बजे बस्ने छ ।

समितिले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाउने छ । गत वैशख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकिरहेको थिएन । हाल कार्की कामु प्रधानन्यायाधीश छन् । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।

संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ५/५ जना छन् । कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी, एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहेका छन् ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन् । रास्वपाबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपति शमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:४८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।