काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
मंगलबारदेखि इटहरीमा जारी जसपाको प्रदेश कमिटी बैठकले सरकारमा स्वास्थ्य मन्त्री रहेकी निर्मला लिम्बूलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ ।
जसपाका एक नेताले भने-‘सरकार छाड्ने निर्णय चाहिँ भयो ।’ प्रदेशमा जसपाको एक जना सांसद लिम्बू मात्रै हुन् । संवैधानिक प्रक्रियाअनुसार सरकारमा सहभागी कुनै पनि राजनीतिक दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।
प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीको १३, राप्रपाको ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरू कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत सङ्ख्या ४७ सांसद पुग्छन् । तर सभामुख गठबन्धन दलबाटै भएको कारण विश्वासको मत लिने समयमा भने त्यो सङ्ख्या ४६ मात्रै हुनसक्छ ।
पुस २४ मा एमाले नेता हिक्मत कार्की नेतृत्वमा गठित प्रदेश सरकारमा जसपा सहभागी भएको थियो ।




















प्रतिक्रिया